सुर्तेत। कर्णाली प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा विगतका वर्षहरूको तुलनामा निरन्तर खस्कँदै गएको पाइएको छ। हालै सार्वजनिक भएको २०८२ सालको नतिजा अनुसार प्रदेशको औसत उत्तीर्ण प्रतिशत अघिल्लो वर्षको तुलनामा १०.४ प्रतिशतले घटेको छ।
यस वर्ष परीक्षामा सहभागी ३२ हजार ३ सय ३६ परीक्षार्थीमध्ये १९ हजार ९५ जना अर्थात् ५९.६ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। तथ्याङ्कलाई हेर्दा २०८० सालमा ७१ प्रतिशत र २०८१ सालमा ७० प्रतिशत विद्यार्थी सफल भएकोमा यस वर्षको नतिजाले कर्णालीको शैक्षिक स्तरमा गम्भीर प्रश्न खडा गरिदिएको छ।
शिक्षा विकास निर्देशनालयका अनुसार यस वर्ष प्रदेशभरका १३ हजार २ सय ४१ विद्यार्थी 'ननग्रेडेड' (अनुत्तीर्ण) भएका छन्। जिल्लागत रूपमा हेर्दा मुगुमा सबैभन्दा धेरै ७५.९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने दैलेखमा सबैभन्दा न्यून ३१.८२ प्रतिशत मात्र सफल भएका छन्।
अन्य जिल्लाहरूमा हुम्लाबाट ४ सय ६९, जाजरकोटबाट २ हजार १ सय २२, रुकुम पश्चिमबाट २ हजार ९ सय ९९, जुम्लाबाट १ हजार ४ सय ५४, डोल्पाबाट २ सय ९७, सल्यानबाट २ हजार ७ सय ३२, कालीकोटबाट २ हजार २ सय ४ र सुर्खेतबाट ४ हजार १ सय ८३ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
नतिजा समग्रमा निराशाजनक देखिए तापनि सामुदायिक विद्यालयतर्फको प्रदर्शनमा केही उत्साहजनक उपलब्धि पनि देखिएको छ। यस वर्ष कर्णालीका ३६ जना विद्यार्थीले सामुदायिक विद्यालयबाट ४ जीपीए हासिल गरेका छन्। जसमा सबैभन्दा धेरै सुर्खेतका १८ जना छन् भने सल्यानका ६, दैलेखका २ र कालीकोटका १ जना विद्यार्थीले उत्कृष्ट अङ्क प्राप्त गरेका छन्।
शैक्षिक नतिजा यसरी बर्सेनी कमजोर हुनुमा विभिन्न आधारभूत समस्याहरूलाई जिम्मेवार ठानिएको छ। विशेषगरी हिमाली तथा दुर्गम जिल्लाहरूमा समयमै पाठ्यपुस्तक नपुग्नु, विद्यालयहरूमा विषयगत शिक्षकको चरम अभाव हुनु र उपलब्ध स्रोत साधनको सही परिचालन हुन नसक्नुले विद्यार्थीको सिकाइ उपलब्धिमा प्रत्यक्ष असर पारेको शिक्षा क्षेत्रका सरोकारवालाहरूको बुझाइ छ।
यस्ता समस्याहरूको समयमै सम्बोधन नभए कर्णालीको शैक्षिक भविष्य थप चुनौतीपूर्ण बन्ने देखिन्छ।