आइजीपी कार्कीलाई रास्वपा सांसद सुनारको जवाफ: 'मुद्दा लागेका व्यक्तिले बयान दिने हो, प्रवचन दिने हैन'

आइजीपी कार्कीलाई रास्वपा सांसद सुनारको जवाफ: 'मुद्दा लागेका व्यक्तिले बयान दिने हो, प्रवचन दिने हैन'

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई बयान दिनुको सट्टा प्रवचन नदिन चेतावनी दिएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा भएको भनाभनपछि उत्पन्न विवादका बीच सांसद सुनारले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले आइजीपी कार्कीमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाउँदै तत्काल निलम्बन गरेर छानबिन अघि बढाउन माग गरेका थिए। त्यसको प्रतिवाद गर्दै आइजीपी कार्कीले आफ्नो मर्यादाको ख्याल नगरी बिना प्रमाण आरोप लगाइएको भन्दै ती आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका थिए। सो क्रममा सुनारले समितिको बैठक नै बहिष्कार गरेर हिँडेपछि रास्वपाकै सांसद गोविन्द पन्थीलगायत अन्य दलका नेताहरूले समेत उनको शैलीको आलोचना गरेका थिए।

आफ्नो आलोचना भएपछि बिहीबार सामाजिक सञ्जालमा लेख्दै सांसद सुनारले राज्यमा एक हजार अर्बभन्दा बढी बेरुजु र अनगिन्ती भ्रष्टाचारका काण्डहरू रहेको उल्लेख गरेका छन्। उनले आफूहरूले मुख मीठो बनाउँदा जनताको मुख तितो हुने भन्दै पिँधका जनताको अधिकारका लागि अझै धेरै तितो बोल्न बाँकी रहेको दाबी गरे। बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम उठाउन आफू जुनसुकै मूल्य चुकाउन तयार रहेको उनको भनाइ छ।

आफू सधैँ राष्ट्रसेवक प्रहरी सिपाही र म्यादी प्रहरीको पक्षमा रहेको स्पष्ट पार्दै उनले बर्दी र फुली देखाएर धम्काउँदैमा यो मुद्दा नसकिने बताए। गरिबका छोराछोरी प्रहरीमा भर्ना भएको अवस्थामा उनीहरूकै जुत्ता, मोजा र रासनमा अर्बौँको घोटाला भएको गम्भीर मुद्दा उठेको भन्दै उनले मुद्दा लागेको व्यक्तिले बयान दिनुपर्नेमा प्रवचन दिइरहेको टिप्पणी गरे। उनले 'जुत्ता लगाउने हो, खाने हैन' भन्दै प्रहरीको आदर्श वाक्य 'सत्य सेवा सुरक्षणम्' उल्लेख गरेर आफ्नो भनाइ टुङ्ग्याएका छन्।

छुटाउनुभयो कि ?