नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्त’प्रति पूर्ण रूपमा दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविपरीत कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने नेपालको प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वार्षिकोत्सव तथा २०२६ नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताको पुरस्कार वितरण समारोहका अवसरमा बिहीबार काठमाडौँमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रसचिव राईले उक्त विचार व्यक्त गरेका हुन्।

उनले दुई देशबीचको कूटनीतिक सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानताका साथै एकअन्तर्गतका भावना र संवेदनशीलताप्रतिको सम्मानमा दरिलो गरी आधारित रहेको स्पष्ट पारे।

परराष्ट्रसचिव राईका अनुसार यो ७१औँ वार्षिकोत्सव कूटनीतिक पात्रोको एउटा निरन्तर सिलसिलामात्र नभएर दुई देशबीचको चिरस्थायी र अटुट सम्बन्धको बलियो प्रमाण पनि हो। सात दशकको लामो यात्रामा द्विपक्षीय सम्बन्ध, परम्परागत सहकार्य र सांस्कृतिक आदानप्रदानबाट अघि बढ्दै साझा समृद्धिका लागि बृहत् साझेदारीको तहसम्म विस्तार भएको उनले उल्लेख गरे।

उच्चस्तरीय भ्रमणलगायत विभिन्न तहमा हुने नियमित आदानप्रदानले नेपाल–चीन सम्बन्धका हरेक आयाममा गतिशीलता र जीवन्तता भर्दै आपसी मित्रतालाई थप उचाइमा पुर्‍याएको परराष्ट्रसचिव राईको भनाइ थियो। द्विपक्षीय सम्बन्धका अलावा नेपाल र चीनले नियममा आधारित विश्वव्यापी व्यवस्थाका लागि बहुपक्षीयताप्रति दृढ प्रतिबद्धता जनाएको र साझा हितका विषयहरूमा विभिन्न बहुपक्षीय मञ्चमा नजिकबाट सहकार्य गर्दै आएको उनले बताए।

एक असल मित्र र नजिकको छिमेकीका रूपमा चीनले हासिल गरेको अभूतपूर्व आर्थिक विकासप्रति नेपालले गर्व गर्ने बताउँदै उनले चिनियाँ अर्थतन्त्रको विकासबाट सिक्न र फस्टाउँदो चिनियाँ अर्थतन्त्रसँग नेपालको आर्थिक सहकार्यलाई अझ गहिरो बनाउन चाहेको स्पष्ट पारे।

विगत सात दशकमा दुई देशबीच व्यापार, लगानी, पूर्वाधार विकास, पर्यटन, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धमा व्यापक विस्तार भएको उल्लेख गर्दै सचिव राईले ट्रान्स-हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल र यसको शीघ्र कार्यान्वयनलाई नेपालले उच्च प्राथमिकता र महत्त्व दिने जानकारी दिए।

सोही अवसरमा बोल्दै नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि हालसम्म अन्तर्राष्ट्रिय परिदृश्यमा जतिसुकै परिवर्तन आए तापनि दुवै पक्षले एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएको बताए। उनले सुखदुःखमा सँगै उभिने असल छिमेकी, असल मित्र र असल साझेदारका रूपमा यो सम्बन्ध स्थापित भएको धारणा राखे।

नेपालमा नयाँ सरकार गठन भएयता नेपाल-चीनबीचको राजनीतिक पारस्परिक विश्वास अझ गहन बन्दै गएको र उच्चस्तरीय ‘बेल्ट एन्ड रोड सहकार्य’ ठोस परिणामसहित अघि बढिरहेको राजदूत माओमिङले दाबी गरे।

व्यापार तथा अर्थतन्त्र, पूर्वाधार, सम्पर्क-सञ्जाल, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतका क्षेत्रमा नयाँ प्रगति हासिल भएको जानकारी दिँदै उनले ठूलो संख्यामा चिनियाँ पर्यटकहरू नेपालको अनुपम प्राकृतिक सुन्दरता नियाल्न आइरहेको बताए। दुई देशका जनताबीचका यी सामान्य तर न्यानो साटासाट नै आजको नेपाल–चीन सम्बन्धको वास्तविक र बलियो जग भएको राजदूत माओमिङको भनाइ थियो।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई ‘विकास र समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारी’को नयाँ स्तरमा पुर्‍याएको स्मरण गराउँदै उनले चीनले सधैँ शान्तिपूर्ण विकासको बाटो अवलम्बन गर्दै आएको बताए।

सबै देश उनीहरूको आकार, शक्ति वा आर्थिक अवस्था जस्तोसुकै भए पनि एकअर्कालाई सम्मान गर्दै समान व्यवहार गर्नुपर्छ र शान्तिपूर्वक सहअस्तित्वमा रहनुपर्छ भन्ने मान्यता चीनको रहेको उनले विचार व्यक्त गरे।

राजदूत माओमिङले चीन नेपालसँग पारस्परिक सम्मान र लाभमा आधारित भई दुई देशको सम्बन्धलाई अझ अगाडि बढाउन, पूर्वसम्झौता तथा महत्त्वपूर्ण समझदारीहरूको प्रभावकारी कार्यान्वयन गर्न र नेपाल-चीनबीच साझा भविष्यको समुदाय निर्माणलाई तीव्र रूपमा अघि बढाउन तयार रहेको जानकारी गराए।

डिजिटल युगमा छोटा श्रव्यदृश्य (लघु भिडियो) सामग्रीहरूले भाषा, दूरी र संस्कृतिका सीमाहरूलाई पन्छाउँदै विषयवस्तुलाई केही सेकेन्डमै व्यापक दर्शकमाझ पुर्‍याउन सक्ने भन्दै उनले खुसी व्यक्त गरे। यस वर्षको नेपाल-चीनमैत्री लघु भिडियो प्रतियोगितामा ठूलो संख्यामा सामग्रीहरू प्राप्त भएको र प्रतिस्पर्धीहरूले दुई देशको सम्बन्धका विविध आयाम तथा सुन्दर दृश्यहरू समेटेकामा उनले प्रशंसा गरे।

श्रव्यदृश्य सामग्रीमा गहिरो भावना र आत्मीयता जोडिएको उल्लेख गर्दै उनले नेपाल–चीन सम्बन्ध कूटनीतिक कागजातमा लेखिएका राजनीतिक सहमतिमा मात्र सीमित नभई दुवै देशका जनताबीचको व्यापक सहकार्य, आदानप्रदान र भ्रमणहरूमा पनि उत्तिकै जीवित रहेको बताए।

कार्यक्रमको अन्त्यमा नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताका विजयी प्रतिस्पर्धीहरूलाई पुरस्कार तथा सम्मानपत्र वितरण गरिएको थियो। प्रतियोगितामा दिपेश स्याङ्दानले प्रथम पुरस्कारसहित नगद ५० हजार रुपैयाँ प्राप्त गरे। सो समारोहमा नेपालका विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिज्ञहरू, उद्योगी–व्यवसायी तथा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?