होर्मुज जलडमरूमध्यबारे अमेरिका र इरानको आ–आफ्नै दाबी: ट्रम्पको ‘पूर्ण नियन्त्रण’को दाबीलाई इरानद्वारा खण्डन

होर्मुज जलडमरूमध्यबारे अमेरिका र इरानको आ–आफ्नै दाबी: ट्रम्पको ‘पूर्ण नियन्त्रण’को दाबीलाई इरानद्वारा खण्डन

एजेन्सी। रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच पुनः भनाभन सुरु भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमाथि अमेरिकाको ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेलगत्तै इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीले त्यसको कडा प्रतिवाद गरेका छन्।

विदेशमन्त्री अराघ्चीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रतिक्रिया दिँदै नक्कली गुप्तचर सूचनाका आधारमा अमेरिकालाई गलत आकलन नगर्न चेतावनी दिएका छन्।

"अमेरिकाले लामो समयदेखि कमजोर गुप्तचर सूचनाका आधारमा गलत आकलन गर्दै आएको छ, जसको एउटा उदाहरण इरानमाथिको युद्ध हो," अराघ्चीले भनेका छन्, "अब होर्मुज जलडमरूमध्यका विषयमा अमेरिकाबाट अझ ठूलो गलत आकलन हुन सक्छ।"

यसैबिच, होर्मुज जलडमरूमध्यमा समुद्री यातायात व्यवस्थापन गर्ने निकाय 'पर्सियन गल्फ स्ट्रेट अथोरिटी'ले जलडमरूमध्य अब अवरुद्ध नरहेको भन्ने अमेरिकी दाबीलाई खण्डन गरेको छ। इरानका सर्तहरू स्वीकार नभएसम्म होर्मुज जलडमरूमध्य पुनः नखोलिने र यो अझै पनि अवरुद्ध नै रहेको उक्त निकायले प्रस्ट पारेको छ।

इरानको मुख्य सैन्य कमान्ड 'खातम अल-अन्बिया' केन्द्रीय मुख्यालयले पनि इरानी सशस्त्र सेनाको अनुमति र निगरानीबिना कुनै पनि व्यापारिक जहाज वा तेल ट्याङ्करले होर्मुज जलडमरूमध्य सुरक्षित रूपमा पार गर्न नसक्ने जनाएको छ।

इरानी सञ्चारमाध्यममार्फत जारी भिडियो सन्देशमा मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फाघारीले विगतमा जस्तै यो क्षेत्र इरानकै पूर्ण नियन्त्रण र व्यवस्थापनमा रहेको बताएका छन्।

जहाजहरू सामान्य रूपमा आवतजावत गरिरहेको भन्ने अमेरिकी दाबीलाई ‘झुटो र असत्य’ भन्दै उनले यस्ता अभिव्यक्ति अमेरिकी सेना ‘निराश र असहाय’ भएको प्रमाण भएको टिप्पणी गरे।

प्रवक्ता जोल्फाघारीले इरानी सेनाले सो क्षेत्रमा अमेरिका र इजरायलका सम्पूर्ण गतिविधिमाथि कडा निगरानी राखिरहेको र राष्ट्रिय सार्वभौमिकता वा जनताको अधिकारमाथि कुनै खतरा आएमा सशक्त जवाफ दिइने चेतावनी दिएका छन्।

इरान र इजरायल-अमेरिकाबिच बढेको तनावका क्रममा इरानी भूमिमाथि संयुक्त आक्रमण भएपछि इरानले गत फेब्रुअरी २८ देखि होर्मुज जलडमरूमध्यमा नियन्त्रण थप कडा बनाएको थियो। त्यसयता इजरायल र अमेरिकासँग सम्बन्धित वा आबद्ध जहाजहरूलाई सो क्षेत्रबाट पार हुन रोक लगाइएको छ।

छुटाउनुभयो कि ?