देउवा चुनदेवी सरे, भने– ‘अदालत र जनताले बदमासीको हिसाब माग्नेछन्’

देउवा चुनदेवी सरे, भने– ‘अदालत र जनताले बदमासीको हिसाब माग्नेछन्’

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनदेवीस्थित नयाँ निवासमा सरेका छन्। बिहीबार संस्थापन इतर पक्षका सयौँ नेता तथा कार्यकर्ताको र्‍यालीसहित उनी चुनदेवी निवास प्रवेश गरेका हुन्।

नयाँ निवास प्रवेश गरेलगत्तै आयोजित भेटघाटमा पूर्वप्रधानमन्त्री देउवाले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारप्रति कडा आक्रोश व्यक्त गरे। अदालत र अन्तर्राष्ट्रिय निकायले समेत पक्राउ गर्ने वा मुद्दा चलाउने आधार नदेखिसकेको अवस्थामा पनि सरकारले आफूविरुद्ध राजनीतिक प्रतिशोध र बदमासी गरिरहेको आरोप उनले लगाए।

आक्रोशित मुद्रामा प्रस्तुत भएका देउवाले भने, “राजा ज्ञानेन्द्रले त हामीलाई दबाउन सकेनन् भने अरूले सक्छन् यहाँ? संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो। हामीले ल्याएको गणतन्त्रमा अहिलेको सरकारले बलजफ्ती र बदमासी गर्दैछ।”

उनले अन्तर्राष्ट्रिय संस्था (इन्टरपोल) र देशको अदालतले समेत पक्राउ नगर्न आदेश दिँदादिँदै सरकारले थप मुद्दा लगाएर पेल्न खोजेको दाबी गरे। “यो देशमा जनता छन्, अदालत छ। हामीविरुद्ध बदमासी गर्नेहरूलाई भोलि देखाउँछौँ,” देउवाले कड्किँदै भने।

उपचार र विदेश बसाइपछि फर्किएका देउवा उत्साहित

गत भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमणमा गम्भीर घाइते भएका देउवा लामो समय उपचाररत थिए। त्यसपछि गत फागुन १३ गते सिंगापुर र चैत ७ गते हङकङ पुगेका उनीविरुद्ध सरकारले 'रेड नोटिस' र पक्राउको प्रयास जारी राखेको थियो। तर, अदालत र इन्टरपोलबाट सो प्रयास असफल भएपछि उनी काठमाडौँ फर्किएका हुन्।

बिहीबार कार्यकर्ता र नेताहरूको बाक्लो उपस्थिति र समर्थन देखेपछि लामो समयपछि देउवा उत्साहित देखिएका थिए।

शुक्रबारको भेलाबाट कांग्रेसको भविष्य तय हुने

देउवाले शुक्रबार नेपाली कांग्रेसको इतर पक्षद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टीभित्रको बढ्दो विवाद र भावी रणनीतिबारे देउवाले गर्ने उक्त सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ, जसले कांग्रेस एकताबद्ध रहन्छ या विभाजनको बाटोमा जान्छ भन्ने कुराको छिनोफानो गर्नेछ।

छुटाउनुभयो कि ?