आज देशभर मनसुन सक्रिय: कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?

आज देशभर मनसुन सक्रिय: कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?

काठमाडौं। हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित छ।

यसका कारण कोशी, मधेस र बागमती प्रदेश लगायत अन्य हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। अहिले बागमती प्रदेशका केही स्थानका साथै कोशी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

तराईका केही क्षेत्रमा पनि मध्यम वर्षा हुनसक्ने अनुमान छ। यसैगरी, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ भने हिमाली भेगका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको जोखिम छ।

आज राति पनि देशभर साधारणतया बदली नै रहनेछ। रातिको समयमा हिमाली तथा पहाडी भूभागका केही स्थान र तराई क्षेत्रका केही भागमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी रातिको समयमा कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक विपत्तिको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ। वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?