काठमाडौँ। आगामी १५औँ महाधिवेशनको कार्यतालिका, विधानको व्याख्या र आन्तरिक शक्ति सन्तुलनलाई लिएर नेपाली कांग्रेसभित्र आन्तरिक किचलो चुलिँदै गएका बेला पार्टीले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार आगामी साउन २४ गते आइतबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बस्नेछ। पार्टीभित्र संस्थापन र संस्थापनइतर समूहबिच तीव्र ध्रुवीकरण बढिरहेको यो संवेदनशील मोडमा डाकिएको यो बैठकलाई केवल नियमित औपचारिक प्रक्रिया मात्र नभई कांग्रेसको भावी राजनीतिक दिशा तय गर्ने निर्णायक थलोका रूपमा हेरिएको छ।
पछिल्लो समय कांग्रेसभित्र महाधिवेशनको मिति, नेतृत्व व्यवस्थापन र विशेष महाधिवेशनपछि बनेको आन्तरिक संरचनामा पुराना तथा नयाँ केन्द्रीय सदस्यहरूको भूमिकालाई लिएर स्पष्ट दुई धार देखिएको छ। संस्थापन पक्षले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने मिति घोषणा गरी तोकिएकै समयमा महाधिवेशन गराउने र विधानका प्राविधिक जटिलताहरू सुल्झाउँदै अघि बढ्ने रणनीति बनाएको छ।
अर्कातर्फ, संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजनमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेर पार्टी नेतृत्वमाथि दबाब बढाउँदै आन्तरिक मोर्चाबन्दी र शक्ति प्रदर्शनको तयारी गरेको छ।
साउन २४ गते बस्ने केन्द्रीय समिति बैठकमा असोजमा प्रस्तावित महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिकको समयसीमा तोक्ने विषय प्रमुख चुनौतीका रूपमा प्रस्तुत हुनेछ।
यसका साथै विधानमा देखिएका अवरोधहरूलाई हटाएर जाने वा साविककै व्यवस्थाअनुसार अघि बढ्ने भन्ने मतभेद तथा इतर समूहले गर्न लागेको राष्ट्रिय भेलालाई संस्थापन पक्षले कुन रूपमा लिन्छ र त्यसलाई साम्य पार्न के-कस्तो लचकता अपनाउँछ भन्ने विषयमा तीव्र बहस हुने निश्चित छ।
क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्राविधिक चटारो र आन्तरिक गुटबन्दीको राजनीतिक तानतानका बिच कांग्रेस नेतृत्वका सामु महाधिवेशनलाई निष्पक्ष र समयमै सम्पन्न गर्ने गम्भीर दाय दायित्व छ। यदि यस बैठकले महाधिवेशनको स्पष्ट, सर्वस्वीकार्य र व्यावहारिक कार्यतालिका तय गर्न सकेन भने कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण अझै सतहमा आउने र यसले १५औँ महाधिवेशनको समग्र प्रक्रियालाई नै अन्योलमा धकेल्ने जोखिम देखिएको छ।