स्वदेश फर्किएपछि देउवाको सन्देश- विगतका घाउ बिर्सेर मेलमिलापको बाटो रोजौं

स्वदेश फर्किएपछि देउवाको सन्देश- विगतका घाउ बिर्सेर मेलमिलापको बाटो रोजौं

काठमाडौं। झन्डै पाँच महिना लामो स्वास्थ्य उपचार पूरा गरी स्वदेश फर्किएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको समृद्धि, राष्ट्रिय एकता र लोकतन्त्रको सुदृढीकरणका लागि सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन्।

एक वक्तव्य जारी गर्दै सभापति देउवाले आफू कुनै पद वा शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकतालाई मजबुत बनाउने उद्देश्यले सक्रिय राजनीतिमा फर्किएको स्पष्ट पारेका छन्।

देउवाले नयाँ युवा पुस्ताको माग र भावनालाई नेपाली कांग्रेसले आत्मसात् गरेको उल्लेख गर्दै परिवर्तनको यात्रामा अनुभव र नयाँ पुस्ताको उत्साह दुवैको सन्तुलन आवश्यक रहेको बताएका छन्।

जेनजी  आन्दोलनका जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने आफ्नो धारणा पहिलेदेखि नै रहेको स्मरण गराउँदै उनले युवा अघि बढ्नुपर्छ भन्दैमा अग्रजहरूको योगदानलाई नकार्न नमिल्ने धारणा व्यक्त गरे।

इतिहासको त्याग र बलिदानलाई भुल्न नहुने भन्दै उनले आफ्नो विगतको लामो राजनीतिक अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्न आफू सधैँ तत्पर रहेको उल्लेख गरेका छन्।

सत्तारुढ दल र सरकारको ध्यानाकर्षण गराउँदै देउवाले जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको र त्यसलाई सम्बोधन गर्नु वर्तमान सरकारको प्रमुख दायित्व भएको बताएका छन्।

राजनीतिक आग्रह र पूर्वाग्रह राखेर जनताको मतलाई कदर गर्न नसके लोकतन्त्रमा जनता नै अन्तिम निर्णायक हुने चेतावनी समेत उनले दिएका छन्। यसैगरी कांग्रेसभित्र देखिएका असहमति, असन्तोष र कार्यकर्ताको निराशालाई तत्काल समाधान गरी पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता पनि उनले जनाएका छन्।

माओवादीको सशस्त्र द्वन्द्वदेखि पार्टीभित्रका आन्तरिक विवाद सल्टाएको आफ्नो अनुभव सम्झँदै देउवाले सबैलाई मिलाएर अघि बढाउने विश्वास दिलाएका छन्।

२००७ सालदेखिको राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले नै गर्दै आएको स्मरण गराउँदै देउवाले वर्तमान संविधानको संरक्षण र आवश्यकता अनुसारको संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने बताएका छन्।

आफ्नो सार्वजनिक जीवन खुला किताबजस्तै रहेको र आफूले सधैँ राष्ट्र, लोकतन्त्र, नागरिक र संविधानलाई सर्वोपरी मानेर काम गरेको दाबी गर्दै देउवाले आफू नेता बनेर भन्दा पनि राष्ट्रको आजीवन नागरिक बनेर सेवा गर्न फर्किएको बताए।

उनले विगतका विभाजन र विद्वेषका घाउहरू बिर्सेर प्रतिशोधको साटो मेलमिलापको मार्ग रोज्न सबै राजनीतिक दल तथा आम नागरिकहरूलाई आह्वान गरेका छन्।