सुर्खेत। दैलेखको साङ्गेतडास्थित सडकबाट कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुहरूको खोजी कार्य शुक्रबार बिहानदेखि पुनः सुरु गरिएको छ।
नदीमा बेपत्ता भएका यात्रु र गाडीको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना तालिमप्राप्त गोताखोर बिहान ८ः०० बजेदेखि पुनः परिचालित भएका हुन्।
बिहीबार दुर्घटनालगत्तै गोताखोरको टोलीले लगातार पाँच घण्टासम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि आज दोस्रो दिन बिहानैदेखि खोजी कार्यलाई निरन्तरता दिइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए।
बिहीबार बिहान ८ः०० बजे सुर्खेत बसपार्कबाट कालीकोटतर्फ प्रस्थान गरेको क प्र ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी मध्यान्ह ११ः३० बजेको समयमा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई नदीमा खसेको थियो। वर्षाका कारण कर्णाली नदीको जलसतह बढेको र बहाव समेत तीव्र भएकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।