सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका-५ सिम्कमा भएको बोलेरो जिप दुर्घटना मृत्यु हुनेको संख्या तीन पुगेको छ । अरु तीन जना घाइते भएका छन् ।
शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२-००१ ज ०००५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने डिल्लीबहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चालक त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय भुपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरूमा त्रिवेणी–५ का २९ वर्षीय पारस बोहरा र त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन् । प्रहरीका अनुसार उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।
घाइतेलाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।