उत्तर प्रदेशमा बनेको न्यून चापीय प्रणालीको असर: देशभर बदली र वर्षाको सम्भावना

उत्तर प्रदेशमा बनेको न्यून चापीय प्रणालीको असर: देशभर बदली र वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। यसका साथै भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव परेको छ।

हाल कोशी र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहेको छ भने मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली (बादल) रहेको छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया बादल लागिरहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी मधेश प्रदेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?