संविधान संशोधन सबै राजनीतिक दलबीच संवाद र सहमतिमै गर्छौं : सभापति देउवा

संविधान संशोधन सबै राजनीतिक दलबीच संवाद र सहमतिमै गर्छौं : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  सबै क्रियाशील राजनीतिक दलहरूबीच संवाद र सहमति गरेर संविधान संशोधन गरिने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै सभापति देउवाले सबै दलहरूबीच संवाद र सहमतिबाटै संविधान संशोधन हुने बताएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले ओली नेतृत्वको सरकारले जनताको आशा र भरोसा जगाउने गरी सरकारले काम गर्नेमा विश्वास व्यक्त गरे। उनले देश विकासका लागि स्थिर र मजबुत सरकार आवश्यक रहेको बताए।

वर्तमान सरकार मुलुकमा देखिएको आर्थिक शिथिललाई चिर्दै अर्थतन्त्रलाई चलाएमान बनाउने उनको भनाइ छ। उनले भने,'मुलुकमा दिगो शान्ति कायम गर्दै देशभित्र रोजगारीका अवसहरू सृजना गर्नेछ। यसबाट राजश्व थप वृद्धि भइ विकास निर्माणका कामहरू गर्न सकिनेछन्।'

उनले आवश्यकताअनुसार संविधान परिमार्जन हुनु लोकतन्त्रको स्वभाविक अभ्यास भएको जिकिर गरे। संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गरिने दावी गरे। 

भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासन कायम गर्न आवश्यक रहेको बताउँदै सभापति देउवाले संविधान संशोधन गर्दा सबै  क्रियाशील राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट गरेर उचित हुन्छ भन्ने विषयमा आफू स्पष्ट रहेको औंल्याए।

उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने विश्वास व्यक्त गरे। राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउनका लागि गठन भएको सरकार सफल हुने भन्दै सात बुँदे सहमतिको कार्यान्वयनप्रति कांग्रेस दृढ रहेको उनको भनाइ छ।