काठमाडौं। रसुवाको टिमुरे क्षेत्रमा गत भदौ १० गते चीनको तिब्बततर्फबाट आएको भीषण भोटेकोशी बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई बुझाएको प्रारम्भिक विवरण अनुसार बाढीका कारण ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएका छन् भने ४४१ जना चालक, सहचालक र व्यवसायी सम्पर्कविहीन बनेका छन्।
यातायात व्यवस्था विभागले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको एकीकृत विवरण संकलन गर्न असोज २ गते सूचना जारी गरी सात दिनभित्र तथ्याङ्क उपलब्ध गराउन आग्रह गरेको थियो। सोही आह्वान अनुसार महासंघले असोज ५ गते आफ्ना मातहतका विभिन्न सदस्य संघ, समिति र कम्पनीहरूबाट संकलित प्रारम्भिक विवरण विभागसमक्ष पेस गरेको हो।
महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाका अनुसार भदौ १० गते बिहान अचानक आएको बाढीले टिमुरे क्षेत्रमा ठूलो विनाश निम्त्याउँदा मालवाहक सवारीसाधन र त्यसमा कार्यरत व्यक्तिहरू बेपत्ता भएका हुन्।
कुन संस्थाका कति सवारी र व्यक्ति बेपत्ता?
महासंघले उपलब्ध गराएको संस्थागत विवरण अनुसार सबैभन्दा ठूलो क्षति नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि (लोकन्थली) मा परेको छ, जसका २१७ वटा ट्रक–कन्टेनर र २५१ जना व्यक्ति सम्पर्कविहीन छन्।
यसैगरी, नारायणी यातायात व्यवसायी संघ (हेटौँडा) का ५८ वटा सवारी र ७८ जना, तराई यातायात व्यवसायी संघ (सिमरा) का २१ वटा सवारी र ३५ जना, गण्डकी ट्रक व्यवसायी संघ (पोखरा) का २१ वटा सवारी र ३४ जना, पश्चिमाञ्चल यातायात व्यवसायी समिति (बुटवल) का ११ वटा सवारी र २२ जना तथा ट्रक यातायात व्यवसायी संघ नेपाल (बल्खु) का १० वटा कन्टेनर र २० जना सम्पर्कविहीन रहेका छन्।
नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुनबहादुर सापकोटा र महासंघ अध्यक्ष बाँनियाका अनुसार यो विवरण प्रारम्भिक मात्र भएकाले थप संकलन भइरहँदा बेपत्ता सवारी र व्यक्तिहरूको संख्या अझै बढ्न सक्ने सम्भावना छ।
पूर्वाधार विकास मन्त्रीको अध्यक्षतामा भदौ २६ गते बसेको बैठकको निर्णय बमोजिम यातायात व्यवस्था विभागले विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको खाका र आवश्यक राय-सुझावसहितको प्रतिवेदन तयार पार्न एक विशेष समिति गठन गरिसकेको छ।