विप्लवलाई टेरेनन् युवाले, बन्दकर्ताहरु पक्राउ

विप्लवलाई टेरेनन् युवाले, बन्दकर्ताहरु पक्राउ

काठमाडाैं ।  पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेको थियो । नेपाल आयल निगमले गरेको मूल्य वृद्धिको चौतर्फी विरोध भइरहेको छ ।

विद्यार्थीहरुले दिनदिनै प्रदर्शन तथा आन्दोलन गरिरहेका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहल समेत गरिसकेका छन् ।

विभिन्न विद्यार्थी संगठनहरुले आयल निगम घेराउ तथा सरकारविरुद्ध नारावाजी पनि गरिरहेका छन । यस्तैमा विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा ग¥यो ।

जनताको ढाड सेकिने गरी गरिएको पटक पटकको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग गर्र्दै विप्लव माओवादीले विभिन्न कार्यक्रमको आयोजना ग¥यो । उसले मूल्यवृद्धि गर्ने सरकार तथा निगमका विरुद्ध आन्दोलन चर्काउँदा पनि मूल्यवृद्धि फिर्ता नभएपछि घोषित कार्यक्रम अनुसार आज ३० गते नेपाल बन्दको घोषणा गरेको थियो ।

पार्टीले कात्तिक २५ देखि ३० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । सार्वजनिक गरिएको कार्यक्रमअनुसार कात्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन गर्ने, २६ गते प्रचाररप्रसार र साँझ मशाल जुलुस, कात्तिक २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा देशव्यापी प्रदर्शन, कात्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्काजाम, कात्तिक २९ गते दिउँसो सिटी जुलुस, साँझ मसाल जुलुस र ३० गते नेपाल बन्दको घोषणा गरेको हो । 

नेपाल बन्दको प्रभाव आज देशभर सामान्य रह्यो । मूल्यवृद्धिको विरोध चौतर्फी भएपनि यही बहानामा विप्लवले गरेको नेपाल बन्दलाई भने जनताले साथ दिन सकेनन् ।

२९ गते एक विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इञ्चार्ज प्रज्वलनले सम्पूर्ण पेसाकर्मी, उद्योगी, व्यवसायी, शैक्षिक संघसंस्थालाई बन्द सफल पार्न सहयोग गर्न आग्रह गरेका थिए । तर दैनिक काम गरेर आफ्नो छाक टार्नेहरुले विप्लवको बन्दलाई समर्थन गर्न सकेनन् । फलतः विहान बन्दको प्रभाव देखिएपनि दिउँसाेबाट भने प्रभाव घट्न थाल्यो ।

प्रहरीले पनि बन्द भन्दै सर्वसाधारणलाई तर्साउँदै हिँडेका दर्जनौलाई पक्राउ ग¥यो । उता नेपाल बन्दको विरोधमा दमौलीमा युवाहरुले मोटरसाइकल र्‍याली नै निकाले । व्यास–५ स्थित नागरिक समाजका युवाले बन्दको विरोधमा दमौली बजारमा मोटरसाइकल र्‍याली निकालेका हुन् । बन्द सदाका लागि बन्द गर्नुपर्ने मागसहित युवाहरुले शान्तिपूर्ण र्‍याली निकालेका थिए ।

‘नेपाल बन्द नगरौं, जनतालाई गरिखान देऊ, मूल्यवृद्धि फिर्ता गरौं’ नारा लेखिएको ब्यानरसहित नेपालको झण्डा लिएर युवाले र्‍याली गरेका थिए । 

जिल्लामा नेपाल बन्द गराउन हिँडेका डेढ दर्जन विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।