उपत्यकामा पैदल यात्रासहित सरसफाइ अभियान चलाइने

उपत्यकामा पैदल यात्रासहित सरसफाइ अभियान चलाइने

काठमाडौँ : नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उपत्यकाका सम्पदास्थलमा पैदल यात्रासहित सफाइ अभियान चलाइने भएको छ । ‘बेटर नेपाल’ नामक सामाजिक संस्थाको संयोजनमा पुस १२ गते शनिबारदेखि सम्पदा पैदलयात्रा एवं सफाइ अभियान सुरु गर्न लागिएको हो।

अभियानमा राजनीतिक दलका शीर्ष नेता, पर्यटन व्यवसायी, खेलाडी, कलाकारलगायत अभियानकर्मी सहभागी हुने ‘वेटर नेपाल’ का अध्यक्ष माला खरेलले जानकारी दिएकी छिन्। आगामी पुस १२ गते शनिबारदेखि चार हप्तासम्म अर्थात् माघ ४ गतेसम्म यो अभियान चलाइनेछ। पुस १२ गते शनिबार पशुपतिबाट वसन्तपुरसम्म पैदलयात्रासहित सफाइ गरिनेछ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, कीर्तिमानी धावक वैकुण्ठ मानन्धर लगायत सहभागी हुनुहुनेछ। कीर्तिमानी धावक मानन्धर उपत्यकाका सबै स्थानमा हुने पैदलयात्रामा सहभागी हुनेछन्।

पुस १९ गते शनिबार माइतीघर मण्डलाबाट स्वयम्भूसम्म सम्पदा यात्रासहित सफाइ गरिनेछ। मण्डलाबाट सुरु हुने पदयात्रासहितको सफाइ कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापालगायत सहभागी हुने जनाइएको छ। पुस २६ गते ललितपुर जिल्लाका सम्पदामा पैदलयात्रासहित सफाइ गरिनेछ। यो कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको नेतृत्वमा यात्रासहित सफाइ गरिनेछ।

माघ ४ गते शनिबार भक्तपुर जिल्लाका सम्पदामा पैदलयात्रासहित सफाइ अभियान चलाइनेछ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहित अभियानकर्मीको सहभागिता रहने जनाइएको छ। हालसम्म चारवटै सम्पदा पदयात्रा एवं सफाइ अभियानमा सहभागी हुन २५ वटा संस्थाले नाम लेखाएको अध्यक्ष खरेलले जानकारी दिएकी छन्।(रा.स.स)