वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट आएको हत्याको धम्कीपछि टर्कीबाट गोप्य रूपमा एउटा सानो विमानमार्फत बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ।
उनी ठूलो आकारको ‘एयर फोर्स वन’ विमानमा चढेको देखिए पनि पछि सो विमानबाट अलग्गिएर सानो सी-३२ए विमानमार्फत टर्कीबाट बाहिरिएको वासिङ्टन पोस्टले सोमबार प्रकाशित गरेको समाचारमा उल्लेख छ।
वासिङ्टन पोस्टसँग कुरा गर्दै एक अज्ञात अमेरिकी अधिकारीले राष्ट्रपति ट्रम्प गत जुलाई ८ मा अंकारामा एयर फोर्स वन विमानमा चढेको जानकारी दिएका छन्।
त्यसलगत्तै उनी विमानमा जोडिएको खानपान सामग्री (केटरिङ) राख्ने कन्टेनरमा प्रवेश गरेका थिए। सोही कन्टेनरमार्फत उनलाई गोप्य रूपमा सानो सी-३२ए विमानसम्म पुर्याइएको र उक्त विमानले उनलाई सुरक्षित रूपमा बेलायत पुर्याएको बताइएको छ।
यस प्रक्रियाका क्रममा सञ्चारमाध्यमका प्रतिनिधि तथा केही उच्च अधिकारीहरूलाई समेत राष्ट्रपति ट्रम्प अझै ठूलै एयर फोर्स वनमै रहेको भ्रममा राखिएको थियो। ठूलो विमानमा सवार पत्रकारहरूलाई यात्राका क्रममा आफ्ना झ्यालका पर्दाहरू बन्द राख्न निर्देशन दिइएको थियो। युद्ध क्षेत्रहरूमा सुरक्षाका कारण प्रायः अपनाइने यस्तो असाधारण कदमले राष्ट्रपति ट्रम्पको सुरक्षा चुनौतीलाई लिएर थप आशङ्का र चर्चा उत्पन्न गराएको छ।
यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले इरानी प्रोक्सी समूहहरूबाट हुन सक्ने सम्भावित खतराका कारण राष्ट्रपति ट्रम्पले टर्कीबाट बाहिरिँदा कतारले अमेरिकालाई उपहारस्वरूप दिएको नयाँ बोइङ ७४७-८ विमान प्रयोग नगरेको दाबी गरेका थिए।
नाटो शिखर सम्मेलनमा सहभागी हुन अङ्कारा पुगेका राष्ट्रपति ट्रम्पले बेलायतस्थित अमेरिकी सेनाका सदस्यहरूलाई नयाँ विमान देखाउने उद्देश्यले आफूले पुरानो बोइङ ७४७ प्रयोग गर्न लागेको बताएका थिए। तर न्युयोर्क टाइम्सलगायत अन्य अमेरिकी सञ्चारमाध्यमहरूले भने इरानी प्रोक्सी समूहबाट हुन सक्ने गम्भीर सुरक्षा खतराकै कारण अन्तिम समयमा विमान परिवर्तन गरिएको समाचार सार्वजनिक गरेका थिए।
अन्तिम समयमा गरिएको विमान परिवर्तनको यस घटनाले कतारले उपहार दिएको नयाँ एयर फोर्स वनको सुरक्षा क्षमतामाथि पनि गम्भीर प्रश्न खडा गरेको छ। उक्त नयाँ विमानमा पुरानो एयर फोर्स वनमा जस्तै आवश्यक सम्पूर्ण सुरक्षा सुविधाहरू, विशेष गरी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली (मिसाइल डिफेन्स सिस्टम), पूर्ण रूपमा जडान भइनसकेको बताइएको छ।
कतारको शाही परिवारले गत वर्ष राष्ट्रपति ट्रम्पको विशेष अनुरोधपछि अमेरिकालाई उक्त विलासी विमान उपहारस्वरूप दिएको थियो। सन् १९९० देखि राष्ट्रपतिको आधिकारिक उडानका रूपमा प्रयोग हुँदै आएका दुई पुराना बोइङ ७४७ विमानहरूको अवस्था र कार्यक्षमतालाई लिएर राष्ट्रपति ट्रम्पले पटक-पटक असन्तुष्टि व्यक्त गर्दै आएका थिए।
उपहारका रूपमा प्राप्त उक्त विमानलाई अमेरिकी राष्ट्रपतिको प्रयोगयोग्य बनाउन तीव्र रूपमा पुनःसंरचना (रेफिट) गरिएको थियो। गत जुलाई १ मा राष्ट्रपति ट्रम्पलाई पहिलोपटक सोही विमानमार्फत नर्थ डकोटा लगिएको थियो। त्यसको केही दिनपछि उनले उक्त विमानबाटै आफ्नो पहिलो औपचारिक विदेशी भ्रमणका क्रममा टर्कीको यात्रा गरेका थिए।
वासिङ्टन पोस्टको यस रिपोर्टका सम्बन्धमा एएफपीले सोधपुछ गरेपछि ह्वाइट हाउसले नयाँ एयर फोर्स वनको सुरक्षा व्यवस्थाको बचाउ गरेको छ। ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीभन चेउङले नयाँ विमान अत्याधुनिक रहेको दाबी गर्दै राष्ट्रपति र उहाँका कर्मचारीहरूको पूर्ण सुरक्षा सुनिश्चित गर्न उच्चस्तरीय सुरक्षा प्रोटोकलहरू लागू गरिएको स्पष्ट पारेका छन्।
निर्देशक चेउङले राष्ट्रपति ट्रम्पले हालै अमेरिकाका अनेकौँ शत्रुहरू रहेको र तीमध्ये धेरैको प्रत्यक्ष निशाना आफू स्वयं रहेको बताउनुभएको स्मरण गराउँदै त्यस्ता खतराहरूसँग जुध्न सरकारले उपलब्ध सम्पूर्ण स्रोत र साधन प्रयोग गरिरहेको बताए। ह्वाइट हाउसले गत महिना पनि उक्त विमानको सुरक्षा क्षमतामाथि प्रश्न उठ्दा यही आधिकारिक धारणा सार्वजनिक गरेको थियो।
यसैबिच, वासिङ्टन पोस्टले सार्वजनिक गरेको भिडियो सामग्रीमा राष्ट्रपति ट्रम्प ठूलो एयर फोर्स वनको सिँढी चढेर भित्र गएको केही मिनेटमै पुरानो विमानबाट खानपान सामग्री बोक्ने एउटा ट्रक बाहिरिएको दृश्य देखिन्छ। त्यसपछि उक्त वाहनलाई नजिकै रहेको सानो सी–३२ए विमानतर्फ लगिएको देखाइएको छ।
दुवै विमान बेलायतमा अवतरण गरिसकेपछि राष्ट्रपति ट्रम्प पुनः ठूलो विमानको सिँढी हुँदै तल ओर्लिएको भिडियोमा दृश्य छ। त्यसपछि उनी नयाँ रूपमा पुनःसंरचना गरिएको एयर फोर्स वनतर्फ अघि बढेका थिए।
तथापि, बेलायत पुगेपछि राष्ट्रपति ट्रम्पलाई सानो विमानबाट कसरी र कुन समयमा पुनः ठूलो विमानमा स्थानान्तरण गरिएको थियो भन्ने विषय भने अझै प्रस्ट हुन नसकेको वासिङ्टन पोस्टले जनाएको छ।