काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारप्रति जनस्तरमा तीव्र असन्तुष्टि र पश्चाताप बढेको दाबी गर्नुभएको छ। पत्रकार सम्मेलनमा बोल्दै उहाँले विद्रोहपछिको जनादेशबाट बनेको सरकारले नयाँ पुस्ता (जेन-जी) र आम जनताको आकांक्षाअनुसार काम गर्न नसकेको बताउनुभयो।
विप्लवले पाँच महिनाको सरकारको चालढालले जनताका अपेक्षाहरू चकनाचुर पारेको आरोप लगाउनुभयो। सुरुमा भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने छनक देखाए पनि एक साताभित्रै सरकार भ्रष्टाचारीको संरक्षण र जनतामाथि दमन गर्न उद्धत भएको उहाँको भनाइ थियो।
‘विद्रोहपछि आएको सरकारले केही गर्छ भन्ने आशा थियो, तर अहिले जनतामा बेचैनी र असन्तुष्टि बढेको छ। बालेन सरकारप्रति मानिसका धारणाहरू उल्टिन थालेका छन्,’ विप्लवले भन्नुभयो, ‘जेल परेका भ्रष्टाचारीहरू धमाधम रिहा भइरहेका छन् र उनीहरूको स्वर झन् ठूलो हुँदै सत्तासम्म पुग्न थालेको छ।’
महासचिव विप्लवले नयाँ पुस्ता असन्तुष्ट बन्दै गएपछि जेन-जी विद्रोहीहरू फेरि सडकमा आउन थालेको दाबी गर्नुभयो। सरकारको नीतिकै कारण देशमा पुन: आन्दोलन, संघर्ष र विद्रोहको वातावरण बन्दै गएको उहाँको निष्कर्ष छ।