काठमाडौं। जाजरकोटमा मंगलबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सैनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो।
केन्द्रका अनुसार यो मध्यम खालको भूकम्प हो। भूकम्पको धक्का जाजरकोट तथा आसपासका छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो।
भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त नभएको र सुरक्षा निकायमार्फत क्षतिबारे थप जानकारी लिने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ।
विगतमा पनि जाजरकोट र आसपासका क्षेत्रलाई केन्द्रविन्दु बनाएर साना-ठुला भूकम्पका धक्काहरू जाने क्रम जारी रहेकाले भूकम्पविज्ञहरूले सतर्कता अपनाउन आग्रह गर्दै आएका छन्।