पीएचपी २सेल’ सुरक्षा जोखिमका कारण सरकारी वेबसाइट अस्थायी रूपमा बन्द, प्याच जडानपछि पुनः सञ्चालन हुने

पीएचपी २सेल’ सुरक्षा जोखिमका कारण सरकारी वेबसाइट अस्थायी रूपमा बन्द, प्याच जडानपछि पुनः सञ्चालन हुने

काठमाडौं। विश्वभर प्रयोगमा रहेको बहुप्रचलित पीएचपी (PHP) प्रविधिमा 'PHP2Shell' नामक अत्यन्तै गम्भीर सुरक्षा जोखिम देखा परेपछि नेपालका केही सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएका छन्।

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (SDOC) ले एक जरुरी सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र सरकारी विवरणहरूमा हुनसक्ने क्षतिलाई रोक्न पूर्वसावधानीस्वरूप यी प्रणालीहरू निष्क्रिय पारिएको जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय साइबर सुरक्षा क्षेत्रमा सिभीई-२०२६-१०९६१८ (CVE-2026-109618) र सिभीई-२०२६-१०९६१९ (CVE-2026-109619) का रूपमा पहिचान गरिएका यी कमजोरीहरूलाई ९.२ को सिभिएसएस (CVSS) स्कोरसहित 'क्रिटिकल' अर्थात् उच्च स्तरको जोखिम श्रेणीमा राखिएको छ। यस प्राविधिक छिद्रको फाइदा उठाउँदै अनधिकृत आक्रमणकारीहरूले लगइन प्रक्रियाविना नै सोझै सर्भरमा घातक कोड चलाएर सिङ्गो प्रणाली नियन्त्रणमा लिन सक्ने उच्च खतरा रहेकाले जोखिमयुक्त वेब सेवाहरू तत्कालका लागि स्थगित गरिएका हुन्।

बडादसैँको सार्वजनिक बिदाको समयमा समेत प्राविधिक जटिलतालाई सम्बोधन गर्न सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र र सम्बद्ध प्राविधिक टोलीहरू निरन्तर चौबीसै घण्टा जोखिम नियन्त्रणमा खटिरहेका छन्।

प्राविधिकहरूले हाल प्रभावित प्रणालीहरूमा सुरक्षा प्याच (Security Patch) जडान गर्ने, कोड सुदृढीकरण गर्ने र आवश्यक प्राविधिक परीक्षणहरू तीव्र रूपमा अघि बढाइरहेका छन्। परीक्षण सम्पन्न भई प्रणालीहरू पूर्ण रूपमा सुरक्षित भएको सुनिश्चित हुनासाथ बन्द रहेका सरकारी वेबसाइट तथा डिजिटल सेवाहरूलाई क्रमशः पुनः सञ्चालनमा ल्याइने केन्द्रले स्पष्ट पारेको छ।

प्राविधिक आपत्कालका कारण अचानक सेवा अवरुद्ध हुन जाँदा सर्वसाधारण तथा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति केन्द्रले क्षमा याचना गर्दै धैर्यताका लागि अनुरोध गरेको छ।