अर्घाखाँची। बडादसैँको टीका थाप्न मावली ससुरालीतर्फ जाँदै गरेका बाबु-छोराको मोटरसाइकल दुर्घटनामा परी अकालमा मृत्यु भएको छ। मृत्यु हुनेहरूमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–८ का ६२ वर्षीय देविराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्य रहेका छन्।
घरमा टीका थापेर भूमिकास्थान–२ भूमेकाथानतर्फ जाँदै गरेको अवस्थामा उनीहरू सवार लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त भई सडकबाट भीरमा खसेको थियो।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिवस जिसीका अनुसार बाबु-छोरा सवार मोटरसाइकल बुधबार दिउँसो ३ बजेपछि नै दुर्घटनामा परेको अनुमान गरिएको छ।
कालोपत्रे गरिएको लामो ओरालो बाटोमा तीव्र गति वा ब्रेक नलागेका कारण अनियन्त्रित भई मोटरसाइकल सडकबाट झन्डै ६० मिटर तल भीरमा खसेको अवस्थामा बिहीबार बिहान फेला परेको थियो। दुर्घटनास्थलमा बाबु-छोराको शव एकापसमा चार-पाँच मिटरको दुरीमा फेला परेको र काठमाडौँमा अध्ययनरत छोरा विवेकले नै मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ।
बुधबार राति अबेरसम्म पनि बाबु-छोरा गन्तव्यमा नपुगेपछि चिन्तित बनेका आफन्तले राति ९ बजेतिर प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीयवासीले रातभर खोजी जारी राख्ने क्रममा बिहीबार बिहान मात्र दुर्घटनाग्रस्त अवस्थामा उनीहरूको शव फेला परेको हो।
मृतक देविरामका तीन छोरीहरू विदेशमा रहेको र दुर्घटनामा ज्यान गुमाएका विवेक परिवारका एक्ला छोरा रहेको प्रहरीले जनाएको छ। यो दर्दनाक घटनाले सिङ्गो गाउँ नै शोकमा डुबेको छ।