काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव जारी रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपासमा अवस्थित छ।
यतिबेला देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बदली छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा भने मौसम मुख्यतया सफा छ। यद्यपि, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेस र सुदूरपश्चिमका तराई भेगमा भने आंशिक बदलीको सम्भावना छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, तराईका भूभागहरूमा पनि एक-दुई स्थानदेखि थोरै स्थानसम्म मध्यम वर्षा हुनसक्नेछ।
आज राति पनि देशभर साधारणतया बदली नै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना औँल्याइएको छ। तराईका जिल्लाहरूमा पनि रातिको समयमा मध्यम वर्षाको सम्भावना कायमै छ।
वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै महाशाखाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
वर्षा र प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले विशेष अनुरोध गरेको छ।