बाजुराको बडीमालिका मेला भदौ १ गतेदेखि, दर्शनार्थीको सुविधाका लागि तयारी तीव्र

बाजुराको बडीमालिका मेला भदौ १ गतेदेखि, दर्शनार्थीको सुविधाका लागि तयारी तीव्र

बाजुरा। सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको बडीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजाआजा आगामी भदौ १ गतेदेखि सुरु हुने भएको छ। दर्शनार्थीको निरन्तर बढ्दो चाप र सम्भावित भीडभाडलाई ध्यानमा राख्दै यस वर्ष मुख्य पूजाको दिनभन्दा केही दिन अगाडि नै मेला सुरु गर्ने निर्णय गरिएको हो।

जिल्लामा आयोजित सर्वपक्षीय बैठकले मुख्य पूजाका दिन एकैपटक अत्यधिक भीड हुने भएकाले भदौ १ गतेदेखि नै भक्तजनका लागि पूजाआजा खुला गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले जानकारी दिएका छन्।

मन्दिरका मुख्य पुजारी नेत्र पाध्यायका अनुसार बडीमालिकामा हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुने परम्परा रहिआएको छ। यस वर्ष आगामी भदौ १२ गते जनैपूर्णिमा परेकाले त्यसको अघिल्लो दिन भदौ ११ गते बडीमालिकामा मुख्य पूजा आयोजना गरिनेछ।

पुजारी पाध्यायले गत वर्ष मन्दिरमा करिब ४५ हजारभन्दा बढी भक्तजनले पूजाअर्चना तथा दर्शन गरेको बताए। बडीमालिकामा हरेक वर्ष नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थीहरू आउने गर्छन्। साथै बाजुरा, डोटी र जुम्लाबाट सरकारी टोलीसमेत पूजा सामग्री र बजारसहित डोली बोकेर बडीमालिका पुग्ने ऐतिहासिक परम्परा रहँदै आएको छ।

यस वर्ष बडीमालिका पुग्ने दर्शनार्थीको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ। गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ र आकर्षक मन्दिर निर्माण गरिदिएपछि यस क्षेत्रको धार्मिक तथा पर्यटकीय आकर्षण थप बढेको छ। नयाँ मन्दिर बनेकाले पनि यसपालि दर्शनार्थीको उपस्थिति उल्लेख्य रूपमा वृद्धि हुने स्थानीय चन्द्र थापाले बताए।

बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले यस वर्षको पूजा तथा मेलालाई थप व्यवस्थित र मर्यादित बनाउनका लागि आवश्यक सम्पूर्ण तयारी सुरु गरिसकिएको जानकारी दिएका छन्। त्यसका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तहहरू र सुरक्षा निकायहरूले आ-आफ्नो तर्फबाट तयारीलाई तीव्रता दिएका छन्।

नगरप्रमुख खड्काका अनुसार मेलालाई सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सम्पन्न गर्न सर्वपक्षीय बैठकबाट १४ बुँदे महत्त्वपूर्ण निर्णयसमेत गरिएको छ। जसअन्तर्गत मन्दिर जाने पैदल मार्गहरूमा सङ्केत चिह्न, साइनबोर्ड तथा आवश्यक सूचनापाटीहरू राखिनेछ। साथै धार्मिक क्षेत्रको पवित्रता र मर्यादा कायम राख्न सम्पूर्ण मेला क्षेत्रभरि मदिरा, लागुपदार्थ र मासुजन्य वस्तुहरूको बिक्रीवितरण तथा प्रयोगमा पूर्ण रूपमा निषेध गरिने निर्णय भएको छ।

निमित्त जिल्ला समन्वय अधिकारी दिपेन्द्र पाण्डेका अनुसार उच्च हिमाली क्षेत्रमा जाने दर्शनार्थीहरूमा लेक लाग्ने (अल्टिच्युड सिकनेस), बिरामी पर्ने वा अन्य कुनै पनि कारणले आपत्कालीन उद्धार आवश्यक परेमा तत्काल उद्धार तथा राहतको व्यवस्था मिलाइएको छ। यसका लागि जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहहरू तम्तयार अवस्थामा रहनेछन्।

समुद्री सतहबाट करिब चार हजार २०० मिटरको उचाइमा अवस्थित बडीमालिका क्षेत्र धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्य र मनोरम घाँसे मैदान (पाटन) हरूका लागि विश्वभर परिचित छ। मेला अवधिभर दर्शनार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै स्थानीय तहले जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयसँग समन्वय गरी स्वास्थ्यकर्मी खटाउने र बाँकी समग्र व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्ने पाण्डेले जानकारी दिए।

यसका साथै यस वर्ष मेला सुरु हुनुअघि नै सो क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन नेपाल टेलिकमको टावर सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ। यद्यपि उच्च हिमाली भूगोल र मौसममा आएको खराबीका कारण आवश्यक उपकरण तथा सामग्री ढुवानीमा भने केही कठिनाइ भइरहेको जनाइएको छ।

छुटाउनुभयो कि ?