काठमाडौँ। विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित अन्य तीन जनाको शव ब्रड पीकको करिब ५,७०० मिटर उचाइमा फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार उद्धार टोलीले निम्सदाइ भेटिएको स्थानमै थप तीन वटा शव फेला पारेको भए पनि तिनको आधिकारिक पहिचान हुन बाँकी छ।
काठमाडौँबाट पाकिस्तान प्रशासित गिलगिट–बाल्टिस्तानको स्कर्दु पुगेका वरिष्ठ पर्वतारोही मिङ्मा डेभिड शेर्पाले अत्यन्त जोखिमपूर्ण अवस्थामा उद्धार कार्य अघि बढाइएको जानकारी दिएका छन्।
यस्तो छ उद्धारको योजना:
-
पहिलो चरण: उद्धार टोलीले भीरालो र प्राविधिक रूपमा कठिन भूभागबाट शवहरू बोकेर क्याम्प-१ सम्म ल्याउनेछ।
-
दोस्रो चरण: मौसम र हिमाली अवस्था अनुकूल रहेमा सोमबारसम्म शवहरूलाई ‘जापानी क्याम्प’ पुर्याइनेछ।
-
अन्तिम चरण: जापानी क्याम्पबाट पाकिस्तानी सेनाको हेलिकोप्टर प्रयोग गरी शव तथा उद्धार टोलीलाई सुरक्षित रूपमा तल उपत्यकासम्म ल्याइने योजना छ।
अत्यधिक जोखिम र हिमपहिरोको खतराका कारण माथिल्लो क्षेत्रबाट सिधै हेलिकोप्टरमार्फत उद्धार गर्ने विकल्प भने रद्द गरिएको छ।
असार १४ गते भएको थियो दुर्घटना
८,०४७ मिटर अग्लो ब्रड पीक आरोहणका क्रममा साउन १४ गते (बिहीबार) करिब ६,६०० मिटरको उचाइमा (क्याम्प-२ बाट क्याम्प-३ जाने क्रममा) ठूलो हिमपहिरो गएको थियो। १० सदस्यीय आरोहण टोलीसँग बिहीबार बिहानैदेखि सम्पर्क विच्छेद भएको थियो।
निम्सदाइ फाउन्डेसनले शनिबार आधिकारिक वक्तव्य जारी गर्दै निर्मल पुर्जा र अभियानका अन्य सदस्यहरूको निधन भएको पुष्टि गरिसकेको छ।
नेपाल सरकारद्वारा दुःख व्यक्त
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रख्यात आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा र अन्तर्राष्ट्रिय आरोहीहरूको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।
मन्त्रालयका अनुसार नेपाली आरोहीहरूमध्ये पुरबहादुर गुरुङ र ग्यालु शेर्पाको शव फेला परिसकेको छ भने बाँकीको खोजी कार्य जारी छ। इस्लामाबादस्थित नेपाली दूतावासमार्फत शवहरू स्वदेश फिर्ता ल्याउन आवश्यक सहजीकरण भइरहेको छ।