रोल्पाको थवाङमा पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

रोल्पाको थवाङमा पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

रोल्पा। लगातारको अविरल वर्षाका कारण रोल्पाको थवाङमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

थवाङ गाउँपालिका–५ बोटलबारामा खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित ६ वटा घर तथा गोठहरू पुरेको प्रहरीले जनाएको छ। घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय उवाबाट खटिएको प्रहरी टोली सवा १० बजे घटनास्थल पुगेर स्थानीयको सहयोगमा उद्धार कार्य सुरु गरेको थियो।

पहिरोमा पुरिएर १८ वर्षीया शान्ति पुन मगर र अन्दाजी ६० वर्षका कमलबहादुर पुन मगरको मृत्यु भएको छ। उनीहरू पहिरोभित्र मृत अवस्थामा देखिए पनि तत्काल बाहिर निकाल्न कठिन भइरहेको रोल्पा प्रहरीले जनाएको छ।

सोही पहिरोमा परेका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई गम्भीर अवस्थामा जीवितै उद्धार गरिएको छ। घाइतेहरूलाई थप उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

पहिरोमा अरू मानिसहरू पनि पर्न सक्ने वा घाइते भएको हुनसक्ने आशङ्कामा प्रहरी र स्थानीयवासीले खोजी तथा उद्धार कार्य जारी राखेका छन्।

छुटाउनुभयो कि ?