दुर्गमका दुई जनाको सफल हवाई उद्धार: जटिल अवस्थाकी गर्भवती र गम्भीर घाइतेलाई काठमाडौँ ल्याइयो

दुर्गमका दुई जनाको सफल हवाई उद्धार: जटिल अवस्थाकी गर्भवती र गम्भीर घाइतेलाई काठमाडौँ ल्याइयो

काठमाडौं।  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित 'राष्ट्रिय महिला सशक्तीकरण परियोजना' मार्फत ज्यान जोखिममा रहेका दुई जनाको सफल हवाई उद्धार गरी विशेषज्ञ अस्पताल पुर्‍याइएको छ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ निवासी ३८ वर्षीया शारदा बस्नेत विगत तीन दिनदेखि जटिल प्रसूति समस्याबाट ग्रसित थिइन्। प्रसूति हुन नसकी स्वास्थ्य अवस्था गम्भीर बनेपछि चिकित्सकको सिफारिसमा उनलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरिएको हो। उहाँलाई काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ल्याएर विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार गराइँदै छ।

त्यसैगरी, आत्महत्याको प्रयासपछि गम्भीर अवस्थामा सल्ले अस्पतालमा उपचाररत अर्का एक युवालाई पनि थप उपचार तथा सघन उपचार (आइसियू) सेवाका लागि हवाई उद्धार गरिएको छ। चिकित्सकीय सिफारिसका आधारमा उनलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयू टिचिङ) ल्याइएको मन्त्रालयले जनाएको छ।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती, सुत्केरी तथा गम्भीर स्वास्थ्य समस्या भएका नागरिकलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा दिलाउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ।

आकस्मिक स्वास्थ्य अवस्थामा नागरिकको जीवनरक्षा, सुरक्षित स्थानान्तरण र पहुँच सुनिश्चित गर्न यो कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइएको छ। दुर्गम क्षेत्रका बासिन्दालाई सङ्कटका बेला राज्यको संरक्षण र स्वास्थ्य सेवासँग जोड्न यस कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको मन्त्रालयले जनाएको छ।

छुटाउनुभयो कि ?