पशुपतिको आध्यात्मिक पार्क सञ्चालनमा ल्याउने तयारी

पशुपतिको आध्यात्मिक पार्क सञ्चालनमा ल्याउने तयारी

काठमाडौं : काठमाण्डौको धार्मीक स्थल पशुपतिमा रहेको कृपालु आध्यात्मिक उड्यान पार्क पशुपति क्षेत्र विकास कोषले सञ्चालनमा ल्याउने तयारी गरेको छ। उक्त पार्कको सबै निर्माण कार्य सकिएपछि कोषले सञ्चालनमा ल्याउने तयारी थालेको हो।

उक्त पार्कको सबै काम सकिए पनि पार्कभित्र छिर्ने मूलगेटको निर्माण नभएकाले सञ्चालनमा ल्याउन ढिलाइ भएको हो। कोषसँगको सहकार्यमा राधा माधव समितिले उक्त पार्कको निर्माण गरेको हो। पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले पार्क सञ्चालनमा ल्याउने तयारी थालेको बताए।

विश्व सम्पदा सूचीको क्षेत्र भएकाले पुरातात्विक विभागको मापडण्डअनुसार पार्कको निर्माण गरिएको छ। पार्क प्रवेश शुल्क लिने वा नलिने बारेमा पनि छलफल गरेपछि निर्णय गरिनेछ। पशुपतिनाथ क्षेत्रको गौशालातिरको भागमा रहेको उक्त हरियाली पार्कले जोसुकै सर्वसाधारणको ध्यान खिच्ने गर्छ। पार्क सञ्चालनमा ढिलाइ भएको भन्दै सर्वसाधारणले समेत अहिले गुनासो गर्ने गरेका छन्।

करिब सय रोपनी क्षेत्रफलमा निर्मित पार्कभित्र गोडमेलको लागि १६ जना कर्मचारी राखेको बताए। करिब ५ करोडको लगानीमा बनेको पार्कमा पोखरी,इनार,बुद्धचित्ता रुख,पुल,पलासको फूल,कमलको फूल,गमला,विभिन्न बोट विरुवा,विश्राम स्थल,शौचालय लगायतको सुविधा रहेको राधा माधव समितिका साधक टीकाबहादुर बुढाथोकीले बताएका छन्।