नेपाल भ्रमण वर्ष २०२० को लागि वाग्मती किनारका सम्पदा रङ्ग्याउँदै जापानीहरु

नेपाल भ्रमण वर्ष २०२० को लागि वाग्मती किनारका सम्पदा रङ्ग्याउँदै जापानीहरु

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को सहयोगका लागि उपत्यकाका सम्पदा क्षेत्रमा रङ्गरोगन गर्न जापानबाट आएका स्वयंसेवक खटिएका छन् । टेकुस्थित वाग्मती नदी किनारको दायाँबायाँका मन्दिर क्षेत्रमा तीन जना जापानी स्वयंसेवी समूहले रङ्गरोगन ग¥यो । जसलाई ललितपुर महानगरपालिका वडा नं २ मा रहेको सृष्टि महिला समूहले पनि साथ दिएको थियो । युवा स्वयंसेवीलाई नेपाल ल्याउन जापानको ओशाकास्थित सन्तानको अपरेशनले मुख्य भूमिका खेलेको थियो । स्वयंसेवी समूहले आज राजतीर्थस्थित राम मन्दिर र नारायण मन्दिर क्षेत्रमा रङ्गरोगन गरी चिटिक्क बनाएको छ ।

रङ्गरोगन गर्न ओसिमा गेन र खाइ साको जापानबाट एक महिनाअघि नेपाल आउनुभएको हो । उहाँहरुलाई नेपालमा एक वर्षअघिदेखि बसी विभिन्न सामाजिक काममा क्रियाशील सन्तान कोअपरेशनका प्रतिनिधि दाइसुरे कियामा र २४ वर्ष अघिदेखि विश्वभाषा क्याम्पसमा जापानीज भाषा पढाउँदै आउनुभएकी मिडौरी साकामोतोले पनि साथ दिनुभएको थियो ।

यो समूहले यसअघि चितवनको मेघालीस्थित धर्मपुर क्षेत्रका १०० परिवार थारुका घरमा पनि रङ्गरोगन गरी चिटिक्क पारेको थियो । पर्यटकीय क्षेत्रका घर र सम्पदा क्षेत्रमा रङ्गरोगन गर्दा नेपाल भ्रमण वर्षका लागि सहयोग पुग्ने उहाँहरुले बताउनुभयो । ठमेलको केही मन्दिरमा समेत रङ्गरोगन गरेको यो स्वयंसेवी समूहले वसन्तपुर क्षेत्रका सम्पदामा पनि काम गर्ने सोच बनाएको छ ।

रङ्गरोगनमा समूहले सञ्चालन गरेको चित्रकला प्रशिक्षणमा सहभागी भएका ३० जना बालबालिकाले पनि सहयोग गरेका थिए । तीन महिनासम्म प्रशिक्षण दिइएको थियो । फागुनपछि फेरि प्रशिक्षणलाई निरन्तरता दिइने सृष्टि महिला समूहले जनाएको छ । सन्तान कोअपरेशनको सहयोगमा सृष्टि महिला समूहले गत वर्ष माघदेखि विपन्न वर्गका बालबालिकालाई पोषणयुक्त खाना खुवाउने कार्यक्रमसमेत राममन्दिरमा आयोजना गर्दै आएको छ । पाक्षिक रुपमा त्रिपुरेश्वस्थित विश्वनिकेतन माध्यमिक विद्यालय र सानेपास्थित टीकाभैरव विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत ५० बालबालिकालाई पोषणयुक्त खाना खुवाउँदै आएको समूहकी अध्यक्ष पारु डङ्गोल राउतले राससलाई जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिकाले दुई पटकसम्म उत्कृष्ट काम गर्ने महिला समूहका रुपमा सूचिकृत गरेको समूहले यस क्षेत्रको सांस्कृतिक सम्पदा सफाइमा समेत योगदान गर्दै आएको छ । यस क्षेत्रका अमूर्त सम्पदा अर्थात् जात्रा लगायतको संरक्षणमा समेत समूहले सहयोग गर्दै आएको छ ।