संखुवासभाको सिलिचोङमा पहिरो जाँदा ७ परिवार विस्थापित

संखुवासभाको सिलिचोङमा पहिरो जाँदा ७ परिवार विस्थापित

संखुवासभा। संखुवासभाको सिलिचोङ गाउँपालिका-१ मा लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण सात परिवार पूर्ण रूपमा विस्थापित भएका छन्।

शनिबार रातिदेखि सुरु भएको अविरल वर्षासँगै तल्लो तेन्छोङ बस्तीमाथिको जमिन चिरा परेर पहिरो खस्न थालेपछि ती परिवारहरू थातथलो छाड्न बाध्य भएका हुन्। बाढीपहिरोका कारण स्थानीय दुईवटा विद्यालय, सडक, जलविद्युत् तथा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध हुँदा सो क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार पहिरोका कारण कुन्ती राईको ५ जना, धनपूर्ण राईको ७ जना, मंगलबहादुर राईको ६ जना, सुकप्रसाद राईको ४ जना, मिरा राईको ५ जना, धनमान राईको ३ जना र अरुणसंगम राईको परिवार विस्थापित भएका हुन्।

बस्ती नै जोखिममा परेपछि स्थानीय सिसुवा प्रहरी चौकीको सहयोग र गाउँपालिकाको समन्वयमा उनीहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। घटनास्थलमा थप उद्धार, अनुगमन र क्षतिको विवरण संकलनका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० जनाको प्रहरी टोली परिचालन गरिएको छ।

प्राकृतिक विपत्तिको सबैभन्दा ठूलो असर स्थानीय विद्यालय र भौतिक पूर्वाधारमा परेको छ। सिलिचोङ-१ नेवाटारस्थित कालिका माध्यमिक विद्यालयको भवन माथिबाट खसेको पहिरोले १५ वटा कक्षाकोठा चिराचिरा पारेको छ भने महत्वपूर्ण शैक्षिक सामग्रीहरू नष्ट भएका छन्।

त्यस्तै सिलिचोङ-४ मा रहेको बागेश्वरी आधारभूत विद्यालयमा पनि पहिरोले ठूलो क्षति पुर्‍याएपछि दुवै विद्यालयको पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ। गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार यी विद्यालय भवनहरू भत्किने अवस्थामा पुगेकाले अब तिनलाई पूर्ण रूपमा नयाँ र सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता देखिएको छ।

बाढीपहिरोका कारण सिलिचोङ गाउँपालिकाको केन्द्र जोड्ने सबै सडक तथा गोरेटो बाटोहरू अवरुद्ध भएका छन्। सिसुवाखोलामा आएको बाढीले स्थानीय दुईवटा माइक्रोहाइड्रो (लघुजलविद्युत्) आयोजना पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने केन्द्रीय विद्युत् प्रसारण लाइनसमेत अवरुद्ध भएको छ।

गाउँपालिका क्षेत्रमा इन्टरनेट र सञ्चार सेवा करिब ७० प्रतिशत अवरुद्ध भएकाले सरकारी कार्यालयहरूबाट प्रवाह हुने दैनिक सेवा ठप्प प्रायः भएको अध्यक्ष मेवाहाङले जानकारी दिए।

हाल सिलिचोङका तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेलगायत दर्जनौँ गाउँ पहिरोको उच्च जोखिममा रहेकाले स्थानीय बासिन्दाहरू घर छाडेर सामूहिक रूपमा सुरक्षित आश्रयस्थलमा बसिरहेका छन्। गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई थप सतर्क रहन आग्रह गरेको छ।

लगातारको वर्षा र सडक अवरोधका कारण दुर्गम क्षेत्रमा राहत तथा उद्धार व्यवस्थापनमा निकै कठिनाइ भइरहेकाले गाउँपालिकाले कोशी प्रदेश सरकार र संघीय सरकारसँग तत्काल आपत्कालीन सहयोग, राहत र पुनस्र्थापनाका लागि अपिल गरेको छ।

छुटाउनुभयो कि ?