विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यावसायिक संरचनाहरूमाथि सोमबार बिहान डोजर चलाइएको छ। अस्पतालको जग्गा मिचेर बनाइएका ३२ वटा व्यावसायिक सटरहरू तीन वटा डोजर प्रयोग गरी एक घण्टाभित्रै भत्काइएको हो।
कोशी अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइँटेलका अनुसार सोमबार बिहान ६ बजेदेखि संरचना भत्काउन सुरु गरिएको थियो। हस्पिटल चोकस्थित गणेश मन्दिरले भाडामा लगाएका आधा दर्जन बढी सटरसहित नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयका नाममा अवैध रूपमा बनाइएका सटरहरू भत्काइएका हुन्।
विगत लामो समयदेखि यी संस्थाहरूले अस्पतालको जग्गामा स्थायी संरचना बनाएर औषधि पसल र क्लिनिकहरूलाई भाडामा दिँदै आएका थिए। ती सटरहरूको भाडाबापतको आम्दानी अस्पतालले नभई सम्बन्धित संस्थाहरूले नै उठाउने गरेका थिए।
अस्पताल प्रशासनले सात दिनको अल्टिमेटम दिएर संरचना खाली गर्न अन्तिम चेतावनी दिएपछि व्यवसायीहरूले शनिबारदेखि नै सटर खाली गर्न सुरु गरिसकेका थिए। सम्भावित अवरोध र तनावलाई मध्यनजर गर्दै घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
संरचना भत्काउने कार्यको प्रत्यक्ष अनुगमनका लागि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालसहितका उच्च सुरक्षा अधिकारीहरू उपस्थित थिए।
अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयनका लागि ती संरचनाहरू हटाउन लामो समयदेखि प्रयास गर्दै आएको थियो। भत्काइएको ठाउँलाई अब अस्पतालले तत्कालै पर्खाल (बाउन्डिङ) लगाएर व्यवस्थित गर्ने कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झाले बताए।
डोजर चलाएर व्यावसायिक सटरहरू भत्काइए पनि नेपाल क्षयरोग निवारण संस्था, ब्लड बैंक र गणेश मन्दिरको मूल संरचना भने तत्कालका लागि यथावत राखिएको अस्पताल प्रशासनले जनाएको छ।