काठमाडौं। आइतबार बिहान केहीबेर अवरुद्ध बनेको काठमाडौँ-मुग्लिन-नारायणगढ सडक खण्ड पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ।
रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव अचानक बढेको सूचना पाएपछि सुरक्षा सतर्कता अपनाउँदै नारायणगढबाट मुग्लिङ हुँदै पोखरा र काठमाडौँतर्फ जाने तथा आउने सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रहरीले अस्थायी रोक लगाएको थियो।
तर, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीमा बाढीको बहाव जोखिमपूर्ण नरहेको र अवस्था सामान्य बन्दै गएको स्पष्ट पारेपछि रोकिएका सवारीसाधन पुनः सञ्चालन गराइएको चितवन प्रहरीले जनाएको छ। सडक खुलाएसँगै बिहान रोकिएका सयौँ सवारी साधन र यात्रुहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्।
यसअघि गत भदौ १० गते चीन-नेपाल सीमाक्षेत्रमा गएको भीषण हिमपहिरो र बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको थियो। सोही विपद्का कारण त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुग्नुका साथै तटीय सञ्चार र सडक पूर्वाधार अवरुद्ध भएका थिए। पुरानो जोखिम कायमै रहेकाले सामान्य बाढीको सूचना आउनासाथ प्रहरी र स्थानीय प्रशासनले सडक रोकेर उच्च सतर्कता अपनाउँदै आएका छन्।