सप्तकोशीमा बढ्यो पानीको बहाव : उच्च सतर्कता अपनाउन अपील

सप्तकोशीमा बढ्यो पानीको बहाव : उच्च सतर्कता अपनाउन अपील

विराटनगर । सप्तकोशी नदीमा पानीको सतह बढ्न थालेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन र नदी किनारमा गरिने जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको बताएका छन् । 

दिउँसो ४ः२० बजेको विवरण अनुसार कोशी ब्यारेजमा पानीको बहाव १ लाख ७६ हजार ८ सय क्यूसेक पुगेको छ, जुन खतराको तह हो । 

नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको र पश्चिमतिर कटान सुरु भएका कारण यसलाई खतराको सूचीमा राखिएको छ । हाल कोशी ब्यारेजका ५२ वटा ढोकामध्ये १८ वटा खोलिएका छन् ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन भनिएको छ । नदीमा माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउने जस्ता गतिविधिहरू पूर्ण रूपमा निषेध गरिएको छ । 

गत वर्ष सप्तकोशीमा पानीको बहाव ६ लाख ६१ हजार ५ क्युसेक पुगेको थियो । जुन सन् १९६८ को ७ लाख ८८ हजार २०० क्युसेक पछिकै उच्च हो । त्यसबेला कोशी ब्यारेजका गेटहरूभन्दा माथिबाटै पानी बग्न थालेको थियो । 

२०६५ साल भदौ २ गते मात्र १ लाख ६८ हजार क्युसेक बहाव हुँदा पनि सुनसरीको कुशाहामा तटबन्ध भत्किएको थियो । कोशी ब्यारेजको डिजाइन ९ लाख क्युसेक धान्ने क्षमताको छ । यद्यपि पहाडबाट आउने बालुवा र लेदो थुप्रिएका उक्त क्षमतामा ह्रास आएको विज्ञहरू बताउँछन् । सप्तकोशीमा १ लाख ५० हजार क्युसेक पानी पुग्दा पहिलो (रातो) बत्ती बालिन्छ । २ लाख पुग्दा दोस्रो र ३ लाख पुग्दा तेस्रो बत्ती बालेर उच्च खतराको संकेत दिइन्छ ।

सन् १९६८ मा सबैभन्दा उच्च ७ लाख ८८ हजार २०० क्युसेक पुगेको कोशीमा सन् १९८७ मा ५ लाख २३ हजार र २०८० साउनमा ४ लाख ५२ हजार क्युसेक मापन गरिएको थियो ।