सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको ‘बोलबम’ यात्राका लागि डिजे बजाउने विषयमा उत्पन्न विवादले हिंसात्मक रूप लिँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो।
आइतबार मध्यरातमा भएको उक्त भिडन्तमा प्रदर्शनकारी र सुरक्षाकर्मी गरी २२ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम जल यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहले अबेर राति ठूलो आवाजमा बजाएको डिजेले ध्वनि प्रदूषण र अशान्ति फैलाएको भन्दै विरोध गरेपछि भनाभन सुरु भएको थियो।
विवाद उग्र बन्दै जाँदा दुवै समूहका व्यक्तिहरूबीच भिडन्त सुरु भएको थियो। उत्तेजित भीडले कप्तानगञ्ज बजार क्षेत्रका सर्वसाधारणका घर, मेडिकल, सवारीसाधन तथा अन्य सार्वजनिक एवं निजी संरचनाहरूमा व्यापक तोडफोडका साथै आगजनी गर्न थालेपछि स्थिति नियन्त्रणबाहिर पुगेको थियो।
अवस्था उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो। तर, हवाई फायर गर्दा पनि उत्तेजित भीड शान्त नभई थप तोडफोड र आगजनीमा उत्रिएपछि बाध्य भएर गोली चलाउनु परेको स्थानीय प्रशासन तथा प्रहरीको भनाइ छ।
घटनापछि कप्तानगञ्ज र आसपासको संवेदनशील क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी कडा सुरक्षा व्यवस्था मिलाइएको छ। थप हिंसा हुन नदिन र स्थिति सामान्य बनाउन स्थानीय प्रशासनले अनुगमन बढाएको छ।