७ पटक भूकम्पको धक्का, त्रासमा गाउँले

७ पटक भूकम्पको धक्का, त्रासमा गाउँले

मुस्ताङ । पछिल्दाे २४ घण्टामा  मुस्ताङकाे लोमान्थाङमा ७ पटक भूकम्पको धक्का महसुस भएको छ । मुस्ताङको उत्तरी गाउँपालिका लोमान्थाङका स्थानीयहरू पटक पटक भूकम्प आएपछि त्रसित भएका छन् ।

निरन्तर गएको भूकम्पका कारण ऐतिहासिक तथा पर्यटकीय क्षेत्र लोमान्थाङमा ठुलो क्षति पुगेको गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङले जानकारी दिए । सदियौँ पुराना माटोका संरचनाले भरिएको माटोको सहर लोमान्थाङका अधिकांश घरहरू चर्किएर बस्नै नमिल्ने अवस्थामा पुगेका छन् । गुरुङका अनुसार भूकम्पका कारण गाउँपालिका भित्रका करिब सबैजसो घरहरूमा चिरा परेको छ भने ५० प्रतिशतभन्दा बढी घरहरू तत्काल बस्नै नमिल्ने गरी उच्च जोखिममा परेका छन् ।

‘पुराना र नयाँ केही नभनी भूकम्पले क्षति गरेको छ । धेरैजसो घरहरू चिरिएका छन्,’ उनले भने, ‘अलिबेर अडिएर भूकम्प रह्यो भने सबै गर्ल्यामगुर्लुम  ढल्छन् ।’ उनका अनुसार, २० देखि ३० प्रतिशत घरहरू पूर्ण रूपमा बस्न अयोग्य भएका छन् । ५० प्रतिशत जतिमा केही बढी क्षति भएको अनुमान गरिएको छ । भूकम्पका कारण मानवीय तथा पशु चौपायाको क्षति भने भएको छैन ।

क्षतिको यकिन विवरण सङ्कलन गर्न प्राविधिक टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टोली फिल्डमा खटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालले जानकारी दिए । ‘जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र सुरक्षा टोली वडा–वडामा पुगेर मुचुल्का उठाउने र क्षतिको अवलोकन गर्ने काम सुरु गरिसकिएको छ,’ उनले भने । माटोले बनेका परम्परागत ऐतिहासिक संरचना भएकाले थप पराकम्पन आएमा बाँकी घरहरू पनि भत्किने जोखिम उच्च छ ।

गाउँपालिकाले क्षतिको वास्तविक विवरण सङ्कलन भइरहेको र यसबारे जिल्ला प्रशासन तथा सङ्घ र प्रदेश सरकारलाई समेत जानकारी गराइएको जनाएको छ