काठमाडौं। रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी १५७ जना अझै सम्पर्कविहीन रहेका छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार बेपत्ता हुनेहरूमा ११५ पुरुष, ३९ महिला र तीन बालक रहेका छन्। उनीहरूको खोजी कार्य निरन्तर जारी छ।
सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म नौ जना फेला परेका छन्, जसमा तीन पुरुष, दुई महिला र चार बालबालिका छन्।
बेपत्ता हुनेहरूमा ललितपुरलाई स्थायी वा अस्थायी बसोबास बनाएका मानिसहरूको सङ्ख्या ठूलो छ। स्थायी ठेगाना अन्य जिल्ला भई ललितपुरमा बस्दै आएका ९९ जना (८१ पुरुष, १७ महिला र एक बालक) बाढीपछि हराइरहेका छन्।
यसैगरी, ललितपुरमा बसोबास गर्दै आएका ४१ जना विदेशी नागरिक पनि बाढीमा परी सम्पर्कविहीन भएका छन्। बेपत्ता विदेशीहरूमा २० महिला, १९ पुरुष र दुई बालक छन्। जसमा युक्रेनका १३, अस्ट्रेलियाका १०, अमेरिका र भारतका पाँच-पाँच, चीनका चार, कोरियाका तीन र बेलायतका एक जना रहेका छन्।
बाढीमा परी घाइते भएका २४ जना (२० पुरुष, तीन महिला र एक बालिका) मध्ये २२ जना उपचारपछि घर फर्किसकेका छन्। घाइतेमध्ये एक पुरुषको ग्वार्कोस्थित बि एन्ड बि अस्पताल र एक बालिकाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो।
यसैबिच, बाढीमा परी ज्यान गुमाएका पाटन सुन्धाराका दुई जना (एक पुरुष र एक महिला) को शव पहिचान गरी परिवारको जिम्मा लगाइएको छ।