सुनसरी। लगातारको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार आज साँझ ६ बजेको मापनमा पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ८४ हजार ७८५ क्युसेक पुगेपछि २१ वटा ढोका खोलिएका थिए। त्यसपछि पनि पानीको बहाव थप बढेर प्रतिसेकेन्ड एक लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि २२ वटा ढोका खोलिएको छ।
सामान्यतया कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ।
हालसम्म प्रत्यक्ष डुबानको जोखिम नरहे पनि दिउँसोदेखि नै जलसतह क्रमिक रूपमा बढिरहेकाले तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचना जारी गर्दै सप्तकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमपूर्ण क्षेत्रमा नजान तथा नदीमा माछा मार्ने र दाउरा सङ्कलन गर्ने जस्ता जोखिमपूर्ण काम नगर्न अपिल गरेको छ।