काठमाडौँ l मुलुकमा आइपरेको पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसद्मा रहेका र बाहिर रहेका राजनीतिक दलहरूले साझा संकल्प र एकता प्रदर्शन गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेद्वारा आयोजित सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद् व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने र दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाउने निर्णय गरेका हुन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै दलहरू एकै ठाउँमा उभिने विगतको परम्परालाई कायम राख्दै वर्तमान संकट समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनकाअनुसार बैठकमा सरकारको तर्फबाट भइरहेको खोज, उद्धार र राहतका प्रारम्भिक कार्यबारे जानकारी गराइएको थियो। यस्तै दलहरूले प्राप्त गरेका सूचनाहरू सरकारलाई हस्तान्तरण गरिएको थियो।
‘अहिलेको मुख्य प्राथमिकता खोज, उद्धार र तत्काल राहत नै हो। तर पुनर्निर्माणको काम वर्षौँसम्म चल्ने र यसमा खर्बौँको क्षति हुने देखिएकाले लगातार अनुगमन गर्न, सरकारलाई सुझाव दिन र दलहरूलाई संयुक्त रूपमा परिचालन गर्न संसदीय संयन्त्र आवश्यक छ’, उनले भने।