मेची राजमार्गको राजदुवाली खण्ड पूर्ण अवरुद्ध: मेचीका पहाडी जिल्ला 'टापु' सरह, अत्यावश्यक सामग्रीको अभाव हुने जोखिम

मेची राजमार्गको राजदुवाली खण्ड पूर्ण अवरुद्ध: मेचीका पहाडी जिल्ला 'टापु' सरह, अत्यावश्यक सामग्रीको अभाव हुने जोखिम

इलाम । पूर्वी पहाडी जिल्लाहरूको मुख्य आर्थिक तथा यातायातको मेरुदण्ड (लाइफलाइन) मानिएको मेची राजमार्गको इलाम–राजदुवाली खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र जमिन भासिने क्रम नरोकिँदा इलाम सदरमुकामसहित माथिल्ला क्षेत्रहरू जिल्लाकै अन्य भूभाग र तराईबाट विच्छेद भई ‘टापु’ सरह बनेका छन्।

सडकको समयमै स्तरोन्नति तथा निर्माण कार्य पूरा नहुनु र यस वर्ष फागुन महिनादेखि नै लगातार वर्षा भइरहेका कारण असारको सुरुवातदेखि नै राजदुवाली पहिरोले उग्र रूप लिएको हो। राजमार्ग बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङसहित मेची पहाडका लाखौँ नागरिक प्रत्यक्ष प्रभावित भएका छन्।

निरन्तर जमिन भासिँदै, मन्त्रीको निर्देशन कागजमै सीमित
 

राजदुवाली क्षेत्रमा जमिन भासिने क्रम निरन्तर जारी छ। सामान्य पानी पर्दा समेत पहिरो खस्ने र हिलाम्मे हुने भएकाले साना तथा ठूला सवारी साधन गुड्न सक्ने अवस्था छैन। वर्षौँदेखि दीर्घकालीन समस्याको रूपमा रहेको यस सडक खण्डको स्थायी समाधानका लागि प्रयास भइरहेको दाबी गरिए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमै काम पूरा हुन सकेको छैन।

केही समयअघि पूर्वाधार विकासमन्त्री सुनील लम्सालले क्षतिग्रस्त सडक खण्डको स्थलगत निरीक्षण गर्दै ‘जसरी पनि बर्खायाममा यातायात सेवा सञ्चालन गर्न’ मातहतका निकायलाई कडा निर्देशन दिएका थिए। तर, मन्त्रीको निर्देशनपछि पनि सडक खुलाउने र मर्मत गर्ने कार्यले गति लिन नसक्दा नागरिकले सास्ती भोग्नुपरेको स्थानीय समाजसेवी ईश्वर चिपालुको गुनासो छ।

विकल्पका रूपमा हेरिएका सडकहरू पनि बेहाल

राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सकिने अन्य ग्रामीण तथा कोरिडोर सडकहरूको अवस्था झनै नाजुक छ। वैकल्पिक मार्ग भनिएको मेची करिडोर पूर्ण रूपमा अवरुद्ध छ भने तिल्केनी–सिमल गोलाई सडक पनि ठप्प छ। अघिल्लो वर्षको असोजमा आएको विनाशकारी बाढीले क्षति पुर्‍याएपछि हिउँदभर डाइभर्सन बनाएर मेची करिडोरमा गाडी चलाइएको थियो। तर, बर्खा सुरु भएसँगै पुवाखोलाको बाढीले उक्त डाइभर्सन बगाएको छ।

बेलासीमा बेलिब्रिज जडान गरिए पनि पुवाखोलामा काम सुरु नै नहुँदा यो मार्ग बन्द भएको हो। पुल बनेकै खण्डमा पनि बेलासे–भञ्ज्याङ सडकको हिलाम्मे र जीर्ण अवस्थाका कारण तत्काल सहज यातायातको सम्भावना देखिँदैन।

त्यस्तै, तिल्केनी–सिमल गोलाई सडकको जोगमाई खोलामा रहेको बेलिब्रिज गत वर्षकै बाढीले बगाएको थियो। त्यसपछि स्थानीय प्रशासन र सडक डिभिजनले पटक–पटक अस्थायी डाइभर्सन बनाए पनि बाढीले टिकाइराख्न सकेको छैन। त्यहाँ पुनः बेलिब्रिज जडान गर्ने योजना त छ, तर आर्थिक वर्षको अन्त्यसम्म पनि जडान कार्य सुरु हुन सकेको छैन।

यता सडक डिभिजन कार्यालयले भने मन्त्रालयबाट वैकल्पिक सडकमा पर्ने खोलाका लागि बेलिब्रिज आउने बताइए पनि त्यो कहिले आइपुग्ने भन्नेमा आफूहरू बेखबर रहेको जनाएको छ। साथै, मेची राजमार्गको राजदुवाली खण्ड समेत तत्कालै सञ्चालनमा ल्याउन नसकिने कार्यालयको भनाइ छ।

बिच बाटोमै अलपत्र सवारी, बिरामी मारमा
 

वैकल्पिक सडकहरू एकैसाथ ठप्प भएपछि इलाम सदरमुकाम, पाँचथर र ताप्लेजुङतर्फ जाने मालवाहक सवारी साधनहरू बिच बाटोमै रोकिएका छन्। तराईबाट खाद्यान्न, तरकारी, एलपी ग्याँस र औषधि जस्ता अत्यावश्यक सामग्री बोकेर आएका सवारी साधनहरू राजदुवाली मुनिको क्षेत्रमा अलपत्र परेको उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौडेलले बताए। सडक लामो समय बन्द रहेमा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन सक्ने पौडेलको भनाइ छ।

सबैभन्दा ठूलो मार आकस्मिक रूपमा उपचारका लागि झापा वा विराटनगर रिफर गरिने बिरामीहरूलाई परेको छ। सडक अवरोधका कारण एम्बुलेन्स समेत आवतजावत गर्न नपाउँदा बिरामीको ज्यान जोखिममा परेको छ। स्थानीय सरोकारवालाहरूले सडक डिभिजन, प्रदेश सरकार र सङ्घीय सरकारलाई तत्काल मेची राजमार्ग खुलाउन र वैकल्पिक मार्गहरूमा युद्धस्तरमा काम गर्न माग गरेका छन्।

छुटाउनुभयो कि ?