रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौं।  रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आज बिहान पुनः भीषण बाढी आएपछि सुरक्षा निकाय तथा स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

बाढी र पहिरोको जोखिम तीव्र रूपमा बढेपछि प्रहरीले मुख्य राजमार्गहरूमा सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गराएको छ।चितवन प्रहरीका अनुसार पहिरोका कारण नारायणगढबाट मुग्लिङ हुँदै पोखरा तथा काठमाडौँतर्फ जाने-आउने सबै प्रकारका सवारी साधनहरूको आवतजावत अर्को सूचना नआएसम्मका लागि पूर्ण रूपमा रोकिएको छ।

मुख्य सडकखण्ड ठप्प हुँदा सयौँ सवारी साधन र यात्रुहरू बाटोमै अलपत्र परेका छन्।यसअघि गत भदौ १० गते चीन-नेपाल सीमाक्षेत्र नजिकै हिमनदी (ग्लेशियर) खसेर ल्हेन्दे खोला हुँदै भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढी आएको थियो।

उक्त जलप्रलयले रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। पुरानो क्षति र जोखिम पछि नसकिँदै पुनः बाढी र पहिरोको प्रकोप बढेपछि तटीय बस्तीहरूमा त्रास फैलिएको छ।

प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा सर्न, सुरक्षा निकायको निर्देशन पालना गर्न र अत्यावश्यक बाहेकका यात्रा स्थगित गरी आफ्नो र परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिन विशेष अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?