काठमाडौं। जनआस्था साप्ताहिकका सम्पादक एवम् वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गएराति पक्राउ परेका श्रेष्ठको सानेपास्थित 'जनआस्था' मिडियाको कार्यालयमा प्रहरीले आज बिहानै पुगेर खानतलासी समेत गरेको छ।
बिहान करिब ७ बजे चार-पाँच जनाको संख्यामा कार्यालयभित्र छिरेको प्रहरी टोलीले त्यहाँका महत्त्वपूर्ण कागजातका साथै कम्प्युटर लगायतका विद्युतीय उपकरण (इलेक्ट्रोनिक डिभाइस) हरू नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार अनुसन्धानका क्रममा कम्प्युटर र अन्य डिभाइसहरू परीक्षण गर्नुपर्ने भएकाले खानतलासी गरिएको हो।
प्रहरीले पत्रकार श्रेष्ठमाथि 'वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५' विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउको चौतर्फी विरोध र महासंघको आन्दोलन चेतावनी
पत्रकार श्रेष्ठको पक्राउलाई लिएर सञ्चार जगत्मा तीव्र आक्रोश पैदा भएको छ। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मासहितका सञ्चारकर्मीहरूले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदै पक्राउको कडा विरोध जनाएका छन्। महासंघले अविलम्ब रिहाइ नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ।
विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष समेत रहेका किशोर श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन्। उनी नेपाली खोजी पत्रकारितामा निर्भीक र खरो पहिचान बनाएका वरिष्ठ पत्रकारका रूपमा परिचित छन्।