माधव नेपाल समूहमाथि थप कारबाही गर्ने नेकपा एमालेको चेतावनी

माधव नेपाल समूहमाथि थप कारबाही गर्ने नेकपा एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल समूहमाथि थप कारबाही गर्ने संकेत गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले समानान्तर कमिटी गठन गर्दै हिँडेको नेपाल समूहमाथि कारबाही गर्ने चेतावनी दिए । सोमबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले नेपाल समूहले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्न सक्ने बताएका हुन् ।

उनले भने, ‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरुलाई कारबाहीको प्रक्रिया अघि बढेको छ । अब यहि तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्नेहरु समेतलाई कारबाहीको दिशामा पार्टी अगाडी बढ्छ ।’ प्रमुख सचेतक भट्टराईले लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैह्रकानूनी र गैह्रसंवैधानिक तरिकाले चलाउन खोजिएको पनि बताए ।

‘लोकतान्त्रिक विधिबाट, परम्पराबाट विधानबाट चल्नुपर्ने पार्टी यदी गैह्रकानूनी तरिकाले, गैह्रसंवैधानिक तरिकाले र अवैधानिक तरिकाले चल्छ भने स्वभाविक छ त्यो पार्टीको कारबाहीको विषय बन्छ,’ उनले भने, ‘त्यसकारणले समानान्तर कमिटी गठन गर्ने कुरा त कुनैपनि हालतमा पार्टीका लागि स्वीकार्य विषय हुनै सक्दैन ।’