कोभिसिल्ड खोप २० लाख डोज २ साताभित्र नेपाल आउँछ : स्वास्थ्यमन्त्री

कोभिसिल्ड खोप २० लाख डोज २ साताभित्र नेपाल आउँछ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतसँग खरिद गर्न लागिएको कोभिडविरुद्धको खोप दुई साताभित्र नेपाल आइपुग्ने बताएका छन्। स्वास्थ्य मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेकाले २ साताभित्र खोप नेपाल आइपुग्ने जानकारी दिएका हुन्। उनले खोप खरिदका लागि भारतको सेरम इन्स्टिच्युटलाई अग्रिम रकम बुझाइएको पनि जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले सेरमले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख डोज खरिद गर्न लागेको हो। खोप नेपाल आएपछि २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु हुने पनि मन्त्री त्रिपाठीले जानकारी दिए। दोस्रो चरणमा ६० वर्ष माथिकालाई खोप दिइने छ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालले पहिलो चरणमा सञ्चालित खोप अभियानमा गण्डकी र लुम्बिनी प्रदेशमा उत्साहप्रद सहभागिता रहेको जानकारी दिए।