काठमाडौँ । जापानी इन्सेफलाइटिसबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार ७ वटै प्रदेशका ३६ जिल्लामा जापानी इन्सेफलाइटिसका १२१ वटा केस पुष्टि भइसकेका छन् भने सङ्क्रमणका कारण २६ जनाको मृत्यु भइसकेको छ।
महाशाखाका अनुसार हालसम्म एक हजार २२६ जनामा जेईको लक्षण देखिएको छ।
पछिल्लो ३ दिनमा मात्रै जेईका थप ४ वटा नयाँ केस थपिएका छन् भने रोल्पा र तनहुँमा गरी २ जनाको मृत्यु भएको छ। हाल ५६ जना सङ्क्रमितहरू विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।
महाशाखाको खोप शाखा प्रमुख डा.अभियान गौतमका अनुसार सङ्क्रमितहरूमध्ये ८५ प्रतिशत र मृत्यु भएका शतप्रतिशत व्यक्तिहरूले जेईविरुद्धको खोप नलगाएको पाइएको छ। मृत्यु हुनेहरूमा ७७ प्रतिशत ५० वर्षभन्दा माथिका उमेर समूहका रहेका छन्।
‘जेईको संक्रमणबाट मृत्यु हुनेले खोप नलगाएको पाइएको छ भने मृत्यु हुने पनि धेरै ५० वर्ष भन्दा माथिको उमेर समूहको हुनुहुन्छ ’, डा गौतमले भने।
तथ्याङ्क अनुसार सबैभन्दा बढी मृत्यु कोशी प्रदेशमा १० जनाको भएको छ भने लुम्बिनी प्रदेशमा ५ जना, मधेश प्रदेशमा ६ जना, सुदूरपश्चिममा ३ जना तथा बागमती र गण्डकी प्रदेशमा १-१ जनाको मृत्यु भएको छ।
स्वास्थ्य अधिकारीहरूले झिँगा, लामखुट्टेको टोकाइबाट बच्न, घरवरपर सरसफाइ राख्न र खोप लगाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।