प्रचण्डको अभिव्यक्तिले राजावादी आक्रोशित

प्रचण्डको अभिव्यक्तिले राजावादी आक्रोशित

काठमाडौं। गणतन्त्रवादी राजनीतिक दल राजावादी शक्तिहरूबीचको टकराव थप बढ्ने देखिएको छ। दुवै पक्षले एक-अर्काविरुद्धका क्रियाकलापलाई थप सक्रिय बनाएका छन् । गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पोखराबाट भिडिओ सन्देश र फागुन २५ गते काठमाडौंमा स्वागत र्‍याली गरेका पूर्वराजा ज्ञानेन्द्र शाहप्रति गणतन्त्रवादी राजनीतिक दलहरू झन् आक्रामक हुन थालेका छन् । 

गणतन्त्रवादी राजनीतिक दलका शीर्ष नेताहरू नै विगतका कुरा उठाएर ज्ञानेन्द्र शाहविरुद्ध गालीगलौजमा उत्रिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूको ज्ञानेन्द्रप्रतिको आक्रोश झन् बढेको छ । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिले मुलुकको राजनीतिक अवस्था झन् जटिल बन्ने देखिएको छ ।

शुक्रबार पार्टी कार्यक्रमको सिलसिलामा सिन्धुपाल्चोक पुग्नुभएका प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रविरुद्ध आक्रामक अभिव्यक्ति दिने क्रममा भने, ‘२४० वर्षसम्म राजा महाराजाले यो देशलाई कहाँ पुर्‍याए ? नेपाली जनताले बिर्सेको छ ? मूर्ति चोर को हो ? नेपालका ठुल्ठूला मूर्ति चोरहरू अहिले राजा बन्न खोज्ने ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिस्र्यो भन्ठानेको ?’ पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्ड यत्तिमै रोकिनुभएन । २०६५ सालमा पहिलोचोटि प्रधानमन्त्री हुँदा आफूले दरबार हत्याकाण्डको छानविन गर्न चाहे पनि बीचमै सरकार ढलेको स्मरण गर्दै भन्नुभयो, ‘मैले त्यतिबेला पाँच वर्ष सरकार चलाउन पाएको भए एकपटक छानविन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो ।’

पूर्वराजा ज्ञानेन्द्र र राजावादीप्रति अहिलेसम्मकै कठोर प्रतिक्रिया दिनेक्रममा प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको मास्टरमाइण्ड पनि ज्ञानेन्द्र नै भएको आरोप लगाउँदै भने, ‘त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू उनीहरूको परिवारमै थिए नि, नेपाली जनता सबैले बुझेको छ नि को हो त्यसको प्लानर र मास्टरमाइण्ड को भन्ने ?’ प्रचण्ड मात्र होइन संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभामा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पनि पूर्वराजा ज्ञानेन्द्रको सेवासुविधा नै खोस्न सक्ने चेतावनी दिँदै भने, ‘सरकारकै निर्णयले नागार्जुन निवास उहाँलाई तत्कालीन अवस्थामा बस्न दिएको छ । 

सरकारले चाहे अहिले त्यहाँबाट हटाइदिन सक्छ ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति राजावादी शक्तिहरू भने आक्रामक बनेका छन् । अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको संगीन आरोप लगाएपछि राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही प्रतिवादमा उत्रिएका छन्। 

प्रमुख सचेतक शाहीले विदेशीको इसारामा प्रचण्ड र तत्कालीन सरकार मिलेर वीरेन्द्रको वंशनाश गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिधा भाषामा भन्दा विदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यो । तर, यस्तै भड्किला झुटा भाषण गर्दै हिँड्यौँ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन् ।’

दरबार हत्याकाण्डको सबैभन्दा बढी फाइदा प्रचण्डलाई नै भएको दाबी गरेका शाहीले आफू भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी प्रचण्डले नै मारेको आरोपसमेत लगाएका छन्। शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विदेशीको इशारामा मन्दिरका, गुम्बाका पूजारी, लामालाई कसले घाँटी रेट्यो ? तपाईंले रेट्यो । ३३ किलो सुन तस्कर कसले गर्यो ? तपाईंले गर्‍यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्‍यो ? तपाईंले गर्‍यो।’

मकवानपुरको हेटौँडामा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाइएको छ । शनिबार हेटौँडामा भइरहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सचिव नीराजन बम पतालाले रोष्ट्रममै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएका हुन् । 

सयौँ बैंक लुटिएको, देशमा आतंक र अशान्त बनाएको, १७ हजार मानिसको मुत्यु र लाखौँ जनताको दुःखको कारण नै प्रचण्ड भएको भन्दै उहाँले विरोधस्वरूप तस्वीर जलाएको बताए। रोष्ट्रममा प्रचण्डको फोटो जलाइरहँदा संघीय सांसद तथा भौतिक पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह प्रमुख अतिथिको रूपमा थिए।

यस्तै, राजसंस्था पक्षधरहरूले शनिबार नारायणहिटी दरबारअगाडि प्रदर्शन गरेका छन् । सामाखुसीबाट मोटरसाइकल र्‍यालीसहित उनीहरू नारायणहिटी दरबारअगाडि पुगेका थिए । प्रदर्शनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्नसमेत चेतावनी दिएका छन् ।

राप्रपाका महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले माओवादी अध्यक्ष प्रचण्डले देशमा अराजकता र पुनः हिंसामा धकेल्न खोजेको आरोप लगाएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रचण्डले भाइमारा, मूर्ति चोर र सुन तस्कर भएको आरोप लगाएपछि महामन्त्री राणाले भने, ‘माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनः देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ । यो परिस्थितिमा सम्पूर्ण देशभक्त र राजभक्तहरूमा यस्ता अराजक गतिविधिबाट प्रभावित नभई संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध छ।’

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा हुने विशाल विरोध प्रदर्शन जनसभामा सहभागी हुन आहृवान गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतिगमन र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्रविरुद्ध जनसभामा सहभागी हुन आहृवान गरेको मोर्चाका सदस्य सचिव खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए।

समाजवादी मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवं जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्धमा राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्वहरू लागिपरेको निष्कर्ष निकाल्दै भनेको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गइरहेका छन् । राज्य सञ्चालकको स्वेच्छाचारीका कारण देशले अप्ठेरो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त छ ।’