प्रतिशोधपूर्ण राजनीतिले ऐतिहासिक मोडमा काङ्ग्रेस: यसरी टर्न सक्छ कांग्रेस विभाजन

प्रतिशोधपूर्ण राजनीतिले ऐतिहासिक मोडमा काङ्ग्रेस: यसरी टर्न सक्छ कांग्रेस विभाजन

काठमाडौँ। नेपाली कांग्रेसको इतिहास साक्षी छ- जब-जब पार्टीभित्र नेतृत्वको टकराव र आन्तरिक गुटबन्दी चरमचुलीमा पुग्छ, तब-तब मुलुककै सबैभन्दा पुरानो लोकतान्त्रिक दल विभाजनको सङ्घारमा पुग्ने गर्छ।

२००७ सालको क्रान्तिपछि बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबिचको शक्ति सङ्घर्ष होस् वा २०४६ को प्रजातन्त्र पुनर्वहालीपछिको गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूबिचको तिक्तता होस्, काङ्ग्रेसले पटक-पटक फुटको मूल्य चुकाएको छ। २०५९ सालमा शेरबहादुर देउवा स्वयंले पार्टी फोडेर नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) पार्टी बनाएको इतिहास अझै ताजा छ।

अहिले पुनः त्यस्तै ऐतिहासिक मोडमा उभिएको छ काङ्ग्रेस। तर यसपटकको सङ्कटको केन्द्रमा छन्— संस्थापन पक्षका सभापति गगन थापा र संस्थापन इतरका शेरबहादुर देउवा। काङ्ग्रेसले महाधिवेशनका लागि धमाधम अधिवेशन गरिरहेको छ। संस्थापन पक्ष यसरी महाधिवेशनलाई सफल पार्न अगाडि बढिरहेका बेलामा संस्थापन इतर पक्ष भने रणनीति बुनिरहेको छ। यसरी हेर्दा एउटाले असोज १६ देखि महाधिवेशन गर्दैछ भने देउवा पक्षले मंसिरलाई तोकेको छ। आपसमा कुनै बिन्दुमा पनि भेट हुने वा सहमति हुने देखिँदैन।

काङ्ग्रेसभित्रको वर्तमान विवादको मुख्य जड व्यक्तिवादी राजनीति हो। देउवा पक्षका नेताहरूको एउटै मात्र रटान छ— ‘पार्टी जोगाउने हो भने गगन थापाले पछाडि हट्नुपर्छ/त्याग गर्नुपर्छ’। देउवा समूहको तर्क छ कि गगनबाहेक इतर पक्षबाट जो कोही अगाडि आए पनि पार्टीमा मिलापत्र हुन सक्छ र विभाजन टर्छ। तर, विडम्बना के छ भने गगन थापाको मुख्य नेतृत्व वा कार्यकारी कार्यकाल अझै औपचारिक रूपमा सुरु नै भएको छैन। कार्यकाल नै सुरु नभएका र धेरै कार्यकर्ता तथा नेतालाई ‘पार्टी फुटाउने कारक’का रूपमा चित्रित गरिनुलाई राजनीतिक विश्लेषकहरू व्यक्तिवादी र प्रतिशोधपूर्ण राजनीति मान्छन्।

विगतमा ‘छत्तीसे’ र ‘चौधारे’ गुट जन्मियो, जसले अन्ततः २०५१ को मध्यावधि निर्वाचनमा काङ्ग्रेसलाई ठूलो घाटा पुर्‍यायो। देउवा र कोइराला पक्ष (२०५९) को समयमा सङ्कटकाल बढाउने वा नबढाउने विवादमा देउवाले आधिकारिक काङ्ग्रेस फुटाएर आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाएका थिए। आज इतिहास फेरि अर्को ढङ्गले दोहोरिँदै छ। फरक यति मात्र हो- विगतमा पाका नेताहरूबीच सत्ता र विचारको लडाइँ थियो, आज रूपान्तरण चाहने युवा पुस्ता र परम्परागत सत्ता कब्जा गरिरहन चाहने पुराना पुस्ता बीचको लडाइँ छ।

त्यसो त व्यक्तिभन्दा ठूलो पार्टी हो, यसमा कुनै शङ्का छैन। देउवा पक्षले गगनलाई घेराबन्दीमा पारिरहँदा गगन थापा आफैँले भने परिपक्व र लचिलो राजनीतिक संस्कार प्रदर्शन गरेका छन्। उनले सार्वजनिक रूपमै “पार्टी एकता र लोकतन्त्रको रक्षाका लागि म जस्तोसुकै व्यक्तिगत र राजनीतिक त्याग गर्न तयार छु” भनेर आफ्नो तर्फबाट लचिलोपन देखाइसकेका छन्।

यो भनेको के हो? के गगनले सभापतिको कुर्सीमोह त्याग्छन्? उनले बाहिर आफू त्याग गर्न तयार रहेको बताए पनि भित्रभित्र भने आफूले नै पार्टी सम्हाल्ने दाबी गरिरहेका छन्। अहिलेको महाधिवेशनको लक्षण हेर्दा गगन थापासँग सभापतिमा प्रतिस्पर्धा हुने देखिँदैन। यसले त पार्टी स्वतः जुट्यो भन्दा फरक पर्दैन। पहिलो पटक सभापति हुँदै गरेको अन्तरिम सभापतिले आफ्नो कुर्सी छाडेर अर्कालाई कुर्सीमा किन बसाउँछ? फेरि उनले गर्ने त्यागको अर्थ के छ? अर्कोतिर फेरि पार्टीभन्दा माथि गगन पनि त होइनन्।

मूल प्रश्न भनेको ‘पार्टी ठूलो कि व्यक्ति?’ भन्ने हो। यतिबेला आम नेपाली काङ्ग्रेसका कार्यकर्ता र शुभचिन्तकहरूका अगाडि एउटै अहम् प्रश्न उभिएको छ- पार्टी ठूलो कि गगन वा देउवा? यदि गगन थापाले त्याग गर्दैमा मुलुकको सबैभन्दा पुरानो, ऐतिहासिक र लोकतान्त्रिक पार्टी फुटबाट जोगिन्छ र सही दिशामा अगाडि बढ्छ भने त्यो उनका कमजोरी होइन, ऐतिहासिक योगदान मानिनेछ। तर, प्रश्न देउवा पक्षतिर पनि सोधिन्छ- के गगनको त्यागपछि देउवा पक्षले पार्टीलाई विधि, विधान र देशको आवश्यकता अनुसार रूपान्तरण गर्न दिनेछ? वा यो केवल एउटा सशक्त युवा नेतृत्वलाई किनारा लगाउने चाल मात्र हो?

अहिलेको अन्तिम विकल्प भनेकै त्याग, संवाद र सहमति हो। तर त्यागको भार सधैँ नयाँ र रूपान्तरण खोज्ने पुस्ताले मात्र बोक्नुपर्छ भन्ने छैन। बीपी, किसुनजी र गणेशमानले रगत-पसिना बगाएर बनाएको काङ्ग्रेसलाई व्यक्तिगत अहम् र गुटगत स्वार्थका लागि बलिदानी चढाउने छुट कसैलाई छैन। गगन थापा त्यागका लागि तयार भइसकेको भने पनि ‘पार्टी एकीकरण हुन्छ भने म सभापतिको होडबाट बाहिरिन्छु’ भनेका छैनन्। अर्कोतर्फ खुलेर देउवा पक्षले पनि ‘गगनले सभापति छाडे आफूहरू पनि कुर्सीमा नटाँसिने र युवालाई अवसर दिने’ भनिरहेका छैनन्।

गत पुसको विशेष महाधिवेशन हुने बेलामा यस्तो समय आयो कि भ्रष्ट जति देउवा खेमामा परे भने भ्रष्टाचार नगर्नेहरू गगन थापा समूहमा। हुन सक्छ थापा समूहमा अवसर नपाएका भएर पनि खान पाएका छैनन् होला। तर के भ्रष्टहरू सबै जेल जान तयार छन्? के काङ्ग्रेस भ्रष्ट कुनै पनि नेतालाई कार्यसमितिमा नल्याउने प्रण गर्न सक्छ? विवादित मान्छेहरू नै फेरि काङ्ग्रेसका पदाधिकारीहरूमा आउने हो भने यति ठूलो लडाइँ किन?

पार्टी एक ढिक्का हुन्छ भने गगनले छाड्नुपर्छ। पार्टी उनको मात्र होइन। तर पुराना अनुहार एक जना पनि काङ्ग्रेसको केन्द्रीय कार्यसमितिमा हुनु हुँदैन। एक बोरा आलुमा एउटा मात्र कुहियो भने सबै बोरा नै कुहिन्छ। काङ्ग्रेसका गनिएका एक जना भ्रष्टले मात्र पनि पार्टीलाई ध्वस्त पार्छ। तसर्थ गगनले त्याग गर्नुपर्छ तर सशर्त। त्यो शर्त भनेकै कुनै पनि भ्रष्टलाई कारबाही गरी जेल पठाउने। देउवा, प्रकाशमान, विमलेन्द्र निधि, प्रकाशशरण महत, कृष्णप्रसाद सिटौलाहरू इमानदार रहेछन् भने बाहिर स्वतन्त्र जीवन बाँच्न सक्छन्, होइन भने जेलको चिसो कोठामा राख्नुको विकल्प हुनु हुँदैन। गगनले त्याग गरेकै राम्रो।

यदि गगनले त्याग गरेर काङ्ग्रेस सुध्रिन्छ र साँच्चिकै राणाशासनको अत्याचारलाई ढालेजस्तै हालको विकृति, विसङ्गति, कुशासन, भ्रष्टाचार पनि ढल्छ भने त्याग गर्नैपर्छ। राजनीति भनेको सेवा नै हो। गगन यही सेवा गरेर बीपीपछिका अर्का महान् नेता बन्न सक्छन्। इतिहासले पनि उनको जयजयकार गर्ने नै छ। त्यसो त गगनले २०७२ सालमै भनेका थिए- “मैंने राजनीति गर्ने भनेको १० वर्ष मात्र हो, ५० वर्षको भएपछि मैले राजनीति छाड्छु”। उनले आफ्नै बोलीको ठेगान राख्ने हो भने उनले सभापतिको होडमा मात्र होइन, राजनीति नै छाडे पनि फरक पर्दैन। उनी चार-चार पटक सांसद भए, एक पटक मन्त्री भए, अन्तरिम नै सही एक पटक पार्टीको सभापति भए। अब पुगिहाल्यो, उदाहरण बन्ने हो भने गगनले त्याग गरेको राम्रो।

गगनले छाड्ने हो भने उनीभन्दा कम उमेरको पार्टी सभापति बनोस्। ताकि युवाको सम्बोधन होस् र मुलुक बनोस्। राणाशासनसँग जुधेको पार्टी अब रास्वपासँग जुध्नुछ। त्यो हिम्मत भएको सभापति पार्टीले बनाओस्। देउवा पक्षका अगुवा सबै नेताले पनि संन्यास लिनुपर्छ।

छुटाउनुभयो कि ?