नेकपा (बहुमत) द्वारा व्यवस्था बदल्न संघर्षको घोषणा: 'बालेन सरकार जनविरोधी'

नेकपा (बहुमत) द्वारा व्यवस्था बदल्न संघर्षको घोषणा: 'बालेन सरकार जनविरोधी'

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नवनिर्वाचित महासचिव उदय बहादुर चलाउने ‘दिपक’ ले नेपाली जनताको अवस्था रूपान्तरणका लागि वर्तमान व्यवस्था नै बदल्नुपर्ने बताएका छन्। प्रथम राष्ट्रिय सम्मेलनबाट महासचिवमा निर्वाचित भएपछि आइतबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले सरकारका जनविरोधी कदमविरुद्ध निकट भविष्यमै संघर्षका कार्यक्रम अघि बढाउने घोषणा गरे।

जनसंविधान निर्माणका लागि व्यापक जनपरिचालन गर्दै वर्तमान दलाल पुँजीवादी व्यवस्था विस्थापन गर्ने पार्टीको नीति रहेको चलाउनेको भनाइ छ। वर्तमान सरकारले राष्ट्रिय स्वाधीनता कमजोर बनाएको, सुशासनका नाममा कुशासनलाई प्रश्रय दिएको र जनताको जनजीविका झन् कष्टकर बनाएको आरोप उनले लगाए।

"सुरुमै सुकुम्बासी बस्तीमा डोजर चलाएर यो सरकार निम्न वर्गको शत्रु र उच्च वर्गको रक्षाकवचका रूपमा प्रस्तुत भएको छ," महासचिव चलाउनेले भने।

भोटेकोशीको बाढीपछि उद्धार तथा राहतका नाममा 'एकद्वार प्रणाली' बनाएर अरबौँ रकम संकलन गरिए पनि बाढीपीडितसम्म नपुर्याई प्रधानमन्त्रीको कार्यालयमा राखिनु रकम अपचलन र भ्रष्टाचारसरह भएको उनले दाबी गरे। प्रधानमन्त्री बालेन्द्र शाहको अपरिपक्वताका कारण हजारौँ नागरिकले ज्यान गुमाउनुपरेको र उद्धार तथा राहत कार्य अझै प्रभावकारी हुन नसकेको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे।

सोही कार्यक्रममा पार्टीका नेता गुणराज लोहनीले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा हिमालय क्षेत्रलाई प्रयोगशालाका रूपमा प्रयोग गर्न दिने आशयको अस्पष्ट अभिव्यक्ति दिएको भन्दै त्यसप्रति कडा आपत्ति जनाएका छन्।

छुटाउनुभयो कि ?