जिप दुर्घटना हुँदा एकको मृत्यु

जिप दुर्घटना हुँदा एकको मृत्यु

स्याङ्जा । जिप दुर्घटना हुँदा किशोरीको मृत्यु भएको छ । भिरकोट नगरपालिका– ५ मा आज जिप दुर्घटना हुँदा भिरकोट– ५ की १५ वर्षीया दुर्गा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो तिलाहार नेटास्थित कच्ची सडकखण्ड पकानफाँटबाट नेटातर्फ जाँदै गरेको ग२च २३७३ नंको जिप उकालो बाटोमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर घाइते भएकी दुर्गा अर्यालको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक विमलराज कँडेलले जानकारी दिनुभयो । दुर्घटनामा परी जिप चालकसहित अन्य सात जना घाइते भएका छन् ।

दुर्घटनामा भिरकोट– ५ की ३७ वर्षीया शान्ती अर्याल, ३६ वर्षीय गीता अर्याल, २७ वर्षीया पार्वती अर्याल, ५६ की शोभा अर्याल, ७० वर्षीय भीमकुमारी अर्याल र २४ की सुस्मा अर्याल घाइते हुनुभएको छ । घाइतेलाई गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको र जिप चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रहरीले जनाएको छ ।