सुरु भयो सोह्रश्राद्ध, यस्तो छ शास्त्रीय विधान

सुरु भयो सोह्रश्राद्ध, यस्तो छ शास्त्रीय विधान

काठमाडौं। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आरम्भ हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् रूपमा आरम्भ गरिँदै छ।

आरम्भका दिन आज प्रतिपदा तिथिमा श्राद्ध गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) हरूमा उल्लेख गरिएको छ। प्रतिपदा तिथिको श्राद्धमा गरिने पिण्डदान अपराह्नपछि मात्र गर्नुपर्ने समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो। यो समयलाई अपर पक्ष, प्रेत पक्ष आदि नामले पनि बुझिने गरिन्छ।

चाडपर्व, यज्ञयागादि तथा ठूला शुभ कार्यहरू गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृहरूले आफ्ना सन्ततिबाट तर्पण र पिण्डको आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता रहेको छ।

यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो कर्तव्य र दायित्वबोध पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

सोह्र श्राद्ध अनिवार्य रूपमा अपराह्न कालमा नै गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको उनले जानकारी दिए। जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका विशेष अवस्थामा बाहेक सोह्र श्राद्ध कुनै पनि हालतमा छोड्नु नहुने उनले स्पष्ट पारे।

कुनै कारणवश सोह्र श्राद्ध रोकिएमा धर्मशास्त्रमा अनेकौँ विकल्पहरू दिइएका छन्। सोह्र श्राद्धकर्ताले मुख्य रूपमा आफ्ना पिताको पुण्य तिथिमा श्राद्ध गर्नुपर्ने विधान रहेको छ। आपत् धर्म अनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरूले बताएका छन्।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध सम्पादन गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिने विकल्प रहेको छ। यदि कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने अवस्था भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिर महिनासम्म लगेर जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी तिथि, भरणी नक्षत्र तथा व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने शास्त्रीय विकल्पहरू दिइएका छन्। यी विकल्पहरू निर्णयसिन्धु, धर्मसिन्धुलगायतका धर्मशास्त्रका ग्रन्थहरूमा उल्लेख भएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्रा डा भट्टराईले बताए।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिने परिस्थिति बनेमा सक्ने व्यक्तिले आफैँ र नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले जानकारी दिए। विधिपूर्वक यस्तो जप १० महिनासम्म निरन्तर गर्नुपर्छ। यो विधिबाट जप गर्दा पनि पितृले पूर्ण तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास रहेको उनले बताए।

सोह्र श्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्ने नियम भए तापनि कतिपय पुरोहितहरूले आफूअनुकूल बिहानै श्राद्ध गर्न लगाउने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको धर्मशास्त्रविद्हरूले बताएका छन्।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। बडादसैं जस्तो ठूलो उत्सव मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत रहेको छ। ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रहिआएको छ। यस वर्ष गत जेठ महिनामा अधिकमास परेका कारण सोह्र श्राद्ध र बडादसैँ पर्व केही समय पछि सरेको हो।

छुटाउनुभयो कि ?