काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ५ बजेसम्म १ हजार ४५३ जनाको ज्यान गएको छ।
विभिन्न जिल्लाहरूमा गरी १ हजार ४५१ जनाको शव फेला परेको छ भने २ जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रसुवामा २३६, नुवाकोटमा २०४, धादिङमा ७२, चितवनमा ३६८, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ।
फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायतका आवश्यक कानुनी प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३४ वटा शवको व्यवस्थापन (माटोमुनि सुरक्षित रूपमा राखिएको) गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार ३३० र आफन्तका २ हजार ६१ गरी कुल ३ हजार ३९१ वटा डीएनए नमुना सङ्कलन गरिएको छ।
यसैगरी, पहिचान हुन नसकेका १ हजार ४२१ वटा शवहरूको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। बाढीमा परी बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, बाढीबाट विस्थापित भएका १ हजार २७९ जना व्यक्तिहरूलाई विभिन्न जिल्लाहरूमा स्थापना गरिएका होल्डिङ सेन्टरमा राखिएको छ।