काठमाडौँ। कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा ठूलो भौतिक क्षति पुर्याएको छ।
वडाध्यक्ष हिरविकास जिसीका अनुसार कालीगण्डकीको बाढी बस्तीमा पस्दा करिब दुई दर्जन घर बगाएको छ।
नदीमा पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले बाढीले पुर्याएको कुल क्षतिको यकिन विवरण आउन अझै बाँकी रहेको उनले बताए। बाढी प्रभावित गाउँबाट मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ।
यसैगरी, पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशकुमार पौडेलले जलजला क्षेत्रमा कालीगण्डकीको बाढीले घरहरू बगाएको पुष्टि गरेका छन्। कालीगण्डकीमा हालसम्मकै उच्च तहको बाढी आएको बताउँदै उनले भने, “बाढीले जलजला क्षेत्रमा केही घर बगाएको जानकारी प्राप्त भएको छ। घट्नास्थलमा उद्धार तथा राहतका लागि नेपाल प्रहरीको टोली परिचालन भइसकेको छ।”