नवलपरासी। निरन्तरको वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) भएर बग्ने नारायणी नदीमा जलसतह बढेर खतराको तह नजिक पुगेको छ। देवघाटस्थित जलमापन केन्द्रका अनुसार शनिबार दिउँसो ३:०० बजे नारायणी नदीमा पानीको सतह ८.९८ मिटर पुगेको छ।
देवघाट केन्द्रमा पानीको सतह ९ मिटर पुग्नुलाई खतराको तह मानिन्छ। यसअघि नै ७.३ मिटर पुगेपछि चेतावनीको तह नाघ्ने नारायणी नदीले शुक्रबार राति नै उक्त विन्दु पार गरिसकेको थियो। जलमापन केन्द्रका अनुसार देवघाटमा पानीको सतह अझै निरन्तर बढ्ने क्रममै रहेको छ।
नदीमा पानीको बहाव उच्च बनेपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम तीव्र पारिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिए। जोखिमयुक्त बस्तीका मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै नदी किनारमा नजान माइकिङमार्फत सचेत गराउने काम भइरहेको उनले बताए। प्रजिअ उपाध्यायका अनुसार गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका नारायणी नदीको बाढीको प्रत्यक्ष जोखिममा रहेका छन्।
त्यस्तै, बौदिकाली र बुलिङटार गाउँपालिका कालीगण्डकी नदीको बाढी तथा पहिराको जोखिममा रहेकाले प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्दै सुरक्षा निकायलाई पूर्ण तयारीका साथ 'हाई अलर्ट'मा राखिएको छ।
यसैबीच, नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित गण्डक ब्यारेजमा पानीको बहाव अत्यधिक बढेपछि ब्यारेजका सबै ३६ वटै ढोका खुला गरिएको छ। इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश पालका अनुसार ब्यारेजमा पानीको सतह ३ लाख ४०० क्युसेक पुगेको छ। गण्डक ब्यारेजमा ३ लाख क्युसेक पानी पुग्नुलाई चेतावनीको तह मानिन्छ।
ब्यारेजमा पानीको सतह बढेपछि जोखिम न्यूनीकरणका लागि नेपाल र भारततर्फका दुवै सिँचाइ नहरमा पानीको प्रवाह पूर्ण रूपमा बन्द गरिएको छ। हाल ब्यारेजको माथिल्लो भागमा पानीको सतह ३५९.२ फिट र तल्लो भागमा ३५७.६ फिट पुगेको छ। ब्यारेजमा पानीको तीव्र बहावका कारण सुस्ता क्षेत्रको केही जमिन डुबानमा परिसकेको छ। डुबानबाट प्रभावित बासिन्दालाई सुरक्षित स्थानतर्फ लैजाने काम भइरहेको प्रहरीले जनाएको छ।